घुस रकमसहित पक्राउ परेका शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

-


     मर्दी न्युज    
     वैशाख ९ गते २०८२ मा प्रकाशित


पोखरा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मंगलबार पोखरा महानगरपालिकाको उजुरी फर्छ्यौट तथा समन्वय शाखामा कार्यरत अधिकृत कपिल गिरीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए । गिरीविरुद्ध गैर कानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

आयोगका अनुसार गिरीले कार्यालयमा परेका उजुरीहरूसँग सम्बन्धित प्रमाण नष्ट गरी उजुरी फरफारक गर्ने कार्यमा सहयोग पुर्‍याउने बहानामा सेवाग्राहीसँग घुस माग गरेका थिए। सेवाग्राहीसँग प्रत्यक्ष रुपमा २५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले उनलाई रंगेहात नियन्त्रणमा लिएको हो।

अनुसन्धानबाट पुष्टि भएअनुसार गिरीले अख्तियारमा उजुरी परेका सम्बन्धमा प्राप्त पत्रलाई असर पुर्‍याउने उद्देश्यले सेवाग्राहीसँग सो रकम माग गरी लिएको पाइएको छ।