खपौंदीमा हुने भयो प्याराग्लाइडिङ अवतरण

-


     मर्दी न्युज    
     जेठ ९ गते २०८२ मा प्रकाशित


पाेखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सँगै पामेमा हुदैं आएको प्याराग्लाइडिङ अवतरण बिहीबार देखि पुनः फेवाताल किनार खपौंदीमा हुने भएको छ । नागरिक उड्डयन प्राधिकरणले साविकको अवतरणस्थल खपौदीमा बिहीबारबाट अवतरणका लागि अनुमति दिएसँगै मान्द्रेढुंगा वा तोरीपानीबाट टेकअफ लिएका पर्यटकहरु फेवा किनारमा झर्ने भएका हुन् ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका कारण स्थानान्तरणको मारमा परेको प्याराग्लाइडिङ व्यवसाय पुरानै लयमा फर्किने व्यवसायीको अपेक्षा छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल हवाई खेलकुद संस्था (ना) को सहकार्यमा प्याराग्लाइडिङको समय बढ्नुका साथै यसअघि हुँदै आएको खपौदीमा अवतरण गर्ने निर्णयले आशा जगाएको हो ।

पहिले बिहान ११ बजेदेखि ३ बजेसम्म मात्र उडान हुने गरेकोमा बिहीबारदेखि बिहान ११ बजेदेखि दिउँसो साढे ४ बजेसम्म उडाउने नाले जानकारी दिएको छ ।

विमानस्थल सञ्चालन पूर्व सराङकोटबाट प्याराग्लाइडिङ उडान सुरु भएर फेवातालमाथि उड्दै खपौदीमा अवतरण हुन्थ्यो । प्राधिकरणले सुरक्षाको कारण देखाएपछि सराङकोटबाट उडान (टेकअफ) स्थल ५ किलोमिटर हवाई दूरीमा पश्चिमतर्फ मान्द्रेढुंगामा सरेर अवतरणस्थल खपौंदीबाट पामेमा बनाइएको थियो ।

“यसअघि हामीमा प्याराग्लाइडिङ सञ्चालन चुनौतीपूर्ण र समस्यायुक्त थियो । अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराको आकाशको चमकता हराइसकेको थियो । व्यवसाय धान्न पनि मुस्किल थियोभने करिब एक सय ५० बढी प्यारापाइलट विस्थापित हुनुपरेको थियो । अब भने यो निर्णयले आशा जगाएको छ”, नाका अध्यक्ष अनिल केसीले भने ।

उनका अनुसार बिहान ११ बजेदेखि साँझ ४ः३० बजेसम्म प्याराग्लाइडिङ सेवा सञ्चालन हुने भएको छ । योसँगै पर्यटक र पाइलटलाई फेवाताल र अन्नपूर्ण हिमशृङ्खलाको मनोरम दृश्यको आनन्द लिन थप समय प्रदान गर्ने जनाउँदै नाका अध्यक्ष केसीले भने, “यो समय विस्तारले उडान सङ्ख्या बढाउन र पर्यटकको अनुभवलाई अझ रोमाञ्चक बनाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ ।”

पोखरा महानगरापालिका प्रमुख प्रमुख धनराज आचार्यले पोखरा भ्रमण वर्ष–२०२५ सञ्चालन भइरहेको सन्दर्भसँगै भएको यो निर्णयले पोखराको साहसिक गतिविधिमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

“सकारात्मक प्रयास भएको छ, यसले पुनः पोखराको पर्यटनमा गति थप्नेछ, ढिलै भए पनि व्यवसायीको माग सम्बोधन भएको छ”, उनले भने, “प्याराग्लाइडिङको समय विस्तारसँगै पुरानो स्थलमा अवतरणले साहसिक पर्यटकको मन जित्नेछ । पोखरलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेछ ।”

अध्यक्ष केसीले उनले आगामी दिनमा सोलो प्याराग्लाइडिङ सञ्चालन र अन्तरराष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता आयोजना गर्ने योजनासमेत बनाइएको जानकारी दिए ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका हवाई ट्राफिक नियन्त्रण प्रमुख योगेन्द्र कुँवरले दिगो पर्यटनका लागि क्यानको सहकार्यमा पुराना स्थलहरूमा अवतरण अनुमति दिइएको बताए । “सुरक्षा पहिलो प्राथमिकता हो । सबै कम्पनी र पाइलटले कडा सुरक्षा मापदण्ड पालना गरी पर्यटकलाई सुरक्षित अनुभव प्रदान गर्नुपर्दछ”, उनले भने ।

पोखरा भ्रमण वर्ष संयोजक गोपीबहादुर भट्टराईले पर्यटन वर्ष सफल पार्न पर्यटकीय गतिविधि बढाउनुका साथै चीन र भारतसँग पोखरालाई जोड्ने ‘कनेक्टिभिटी’को सुनिश्चिताको आवश्यक रहेको बताए । “पोखराको सौन्दर्यकै रूपमा रहेको साहसिक पर्यटनको प्याराग्लाइडिङलाई अब कुनै हालतले विस्थापित हुन दिनुहुँदैन”, उनले भने ।

भट्टराइले यसको विस्तार र प्रवर्द्धनका लागि थप कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए । सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वय, समर्थन तथा पर्यटन व्यवसायीको सक्रिय सहयोगले यो सम्भव हुने उनको भनाइ छ ।

पहिला दैनिक कम्तीमा पाँच सयदेखि बढीमा एक हजार पाँच सयसम्म उडान गर्न सफल हुँदै आएकामा स्थानान्तरणले उडानमा सीमित हुँदा व्यवसायी मर्कामा पर्दै आएका छन् ।