लोमान्थाङमा ‘तिजी’ पर्वको रौनक

-


     मर्दी न्युज    
     जेठ ११ गते २०८२ मा प्रकाशित


मुस्ताङ । उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङमा ‘तिजी’ पर्व शुरू भएको छ। 

उपल्लो मुस्ताङमा तिजी पर्वलाई सबैभन्दा महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा लिने गरिन्छ। लोछोदिन समुदायका गुरुङ र विष्ट समुदायका मानिस एकै थलोमा भेला भएर तिजी पर्वलाई हर्ष र उल्लासका साथ मनाउने प्रचलन छ। लोमान्थाङ र लोघेकर दामोदरकुण्डको संयुक्त आर्थिक सहयोग तथा लोमान्थाङस्थित छोदे गुम्बाको व्यवस्थापनमा लोमान्थाङस्थित मुस्ताङ सांस्कृतिक राजाको दरबार परिसरमा शनिबारदेखि ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजीको रौनक शुरू भएको हो। तिजीलाई तिब्बती भाषामा ‘तेन्जी’ पर्व भन्ने गरिन्छ।

तिजी पर्वका बेलामा उपल्लो मुस्ताङका स्थानीय नागरिकले आफ्नो आर्थिक हैसियतअनुसार खानपान गर्ने, नयाँ मौलिक वेशभूषासहितको लुगा र गरगहना  लगाउने गर्छन्। पर्व अवधिभर गुम्बा र छोर्तेनमा गएर सामूहिक पूजाआजा गर्ने चलन छ। 

तिजी पर्व तीनसम्म मनाइने प्रचलन रहेको लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिए। “तिजी पर्व एक किसिमको धार्मिक पूजा नै हो, तर यो धार्मिक पूजालाई लोछोदिन समुदायले पर्वका रूपमा विस्तार गरेको हो,” उनले भने, “उपल्लो मुस्ताङको लोछोदिन समुदायलाई कसैबाट आक्रमण नहोस्, शान्ति स्थापना होस्, सबैको भलो होस् भन्ने उद्देश्यले तिजी पूजाको रूपमा यो पर्व चल्दै आइरहेको हो।” 

तिजी पर्वमा उपल्लो मुस्ताङअन्तर्गत साविकका सातवटै गाविसका मानिस लोमान्थाङस्थित तिजी पर्वमा उपस्थित भएर शान्ति पूजापाठमा सरिक हुनुपर्ने धार्मिक प्रचलन रहेको अध्यक्ष विष्टको भनाइ छ।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङको धार्मिक तथा ऐतिहासिक पर्व तिजी उपल्लो मुस्ताङको सांस्कृतिक धरोहरका रूपमा रहेको बताए। यो पर्वले उपल्लो मुस्ताङको समृद्धि, विकास र शान्ति स्थापना गर्न तथा उपल्लो मुस्ताङका नागरिकलाई भावानात्मक रूपमा एकताबद्ध गर्न तिजी पर्वले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गरे। 

तिजी पर्व आठौँ शताब्दीदेखि धर्मगुरु पद्मसम्भवको पालादेखि शुरू भएको लोमान्थाङस्थित लोमान्थाङ छोदे गुम्बाका लामा झ्याम्पा घ्याचो गुरुङले बताए। गुरु पद्मसम्भवको पालादेखि शुरू भएको तिजी पर्व उपल्लो मुस्ताङमा पन्ध्रौँ शताब्दीमा मुस्ताङी दोस्रो राजाका छोरा आङ्जेन साङ्वोको पालामा शुरू भएको छोदे गुम्बाका लामा गुरुङको भनाइ छ।

पछिल्लो अवस्थामा उपल्लो मुस्ताङमा तिजी पर्व चल्दै गर्दा विभिन्न काखखण्डमा तिजी पर्व रोकिँदै र शुरू हुँदै आएकामा सन् १९६३ देखि नियमित रूपमा उपल्लो मुस्ताङमा तिजी सञ्चालन हुँदै आइरहेको छोदे गुम्बाका लामा गुरुङले जनाए। त्यसो त विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरना संक्रमणको जोखिमका कारण सन् २०२० देखि तीन वर्ष उपल्लो मुस्ताङमा तिजी पर्व रोकिएको लामा गुरुङले उल्लेख गरे। 

लोमान्थाङमा ऐतिहासिक तथा धार्मिक एवं सांस्कृतिक पर्व तिजी तीन दिनसम्म नियमित रूपमा सञ्चालन हुने गर्छ। त्यस अवधिमा तीन दिनसम्म बिहान ६ देखि १२ बजेसम्म गुम्बामा लामाद्वारा बज्रकिलया देवता र महाकाल देवताको पूजापाठ गर्ने गरिन्छ। 

यसैगरी तिजी पर्वको तीन दिनसम्म बिहानको धार्मिक पूजापाठपछि लोमान्थाङस्थित मुस्ताङी सांस्कृतिक राजाको दरबार परिसर अगाडि छोदे गुम्बाका लामाबाट बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने गरिन्छ। यो प्रक्रिया तीन दिनसम्म नियमित चल्ने लामा गुरुङले सुनाए। तिजी पर्वको अवसरमा लोमान्थाङको ऐतिहासिक दरबार अगाडि छोदे गुम्बाका लामाले ५४ प्रकारका बज्रकिलया र महाकाल देवताको नृत्य अभ्यास प्रस्तुत गर्ने चलन रहेको उनको भनाइ छ।

यसरी बज्रकिलया र महाकाल देवताको दुरुस्तै हुनेगरी मुकुट पहिरिएर नृत्य अभ्यास प्रर्दशन गर्ने गरिएको लामा गुरुङले बताए। लोमान्थाङमा आयोजित लोछोदिन समुदायको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक पर्व तिजीको अन्तिम दिन तीन दिनसम्म पुजामा रािखएको तोर्म गाउँबाहिर लगेर बिर्सजन गरेपछि तिजी पर्व समापन भएको संकेत गरिन्छ। यसरीमा पुजामा राखिएको तोर्म बिर्सजन गर्नुअघि कुन दिशमा लगेर बिर्सजन गर्ने हो त्यसको लामाहरूले पुजा गरेपछि निर्क्योल गरिन्छ। तार्म बिर्सजन गर्दा मुस्ताङी राजपरिवार, गाउँका भद्रभलादमी, लामाहरू र स्थानीय गाउँले मिलेर गाउँ बाहिर लगेर फ्याँकिन्छ। 

यसअघि तिजी पर्व शुरू हुँदा लोमान्थाङस्थित मुस्ताङी सांस्कृतिक राजाको दरबारमा राखिएको  दुई तला ठुलो करिव ३० फुट लामो गुरु पद्यम सम्भवको लुङ्ता बाहिर निकालेर लामाहरूले नृत्य अभ्यास गर्ने स्थान नजिकै झुन्ड्याउने गरिन्छ। गुरु पद्यम सम्भवको ठूलो आकारको लुङ्ता वर्षको एक पटकमात्रै तिजी पर्वको बेला सार्वजनिक गर्ने प्रचलन रहेको लोमान्थाङ गाउँपालिका उपाध्यक्ष छिमी गुरुङले जानकारी दिनुभयो। उहाँका अनुसार दरबारबाट निकालिएको पद्यसम्भवको लुङ्ता तिजी पर्व सकेपछि पुनः दरबारमै लगेर राख्ने गरिएको छ।

दुरुस्तै तिब्बतीय कलासंस्कृतिको झल्को दिने उपल्लो मुस्ताङमा आयोजना हुने यसप्रकारको तिजी पर्वलाई विदेशी पर्यटकहरूले निकै अभिरुचि र चासोका साथ अवलोकन गर्ने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ईलाका संरक्षण कार्यालय लोमान्थाङका प्रमुख उमेश पौडेलले जानकारी दिए। तिजी पर्वको अवलोकन गर्ने र त्यहाँको धार्मिक तथा सांस्कृतिक सभ्यता र मौलिकतालाई विदेशी पर्यटकले फोटो र भिडियोमा कैद गर्ने एक्याप लोमान्थाङका कार्यालय प्रमुख पौडेलको भनाइ छ। तिजी पर्वको अवलोकनका लागि उपल्लो मुस्ताङ आएका विदेशी पर्यटकको उपस्थितिले लोमान्थाङमा पर्यटकीय रौनकता बढाएको एक्याप लोमान्थाङ प्रमुख पौडेलले उल्लेख गरे। 

लोमान्थाङमा तिजी पर्वको छेको पारेर यसै हप्ता मात्रै ५०२ विदेशी पर्यटक उपल्लो मुस्ताङमा भित्रिएको एक्याप लोमान्थाङले जनाएको छ। कार्यालयअनुसार सन् २०२५ को मे १ देखि मे २३ तारिखसम्ममा ७५५ विदेशी उपल्लो मुस्ताङ भित्रिएका हुन्। सन् २०२५ को जनवरीदेखि मे २३ सम्ममा एक हजार ६४७ विदेशीले उपल्लो मुस्ताङको भ्रमण गरेको कार्यालय प्रमुख उमेश पौडेलको भनाइ छ।