अन्नपूर्ण हिमाल आरोहणको ७५ वर्षः ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने

-


     मर्दी न्युज    
     जेठ १२ गते २०८२ मा प्रकाशित


पोखरा । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा हिरक महोत्सव मनाइने भएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण गाउँपालिका म्याग्दीको व्यवस्थापनमा हिरक महोत्सव मनाउन लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।

आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा पर्ने भएकाले सोही स्थानमा हिरक महोत्सव मनाइने नेपाल पर्यटन बोर्ड गण्डकीका प्रमुख मणिराज लामिछानेले जानकारी दिए । महोत्सवमा फ्रान्सलगायतका युरोप–अमेरीका लगायत देशका १२ राजदुतलाई समेत निमन्त्रणा गरिएको लामिछानेले बताए ।

अन्नपूर्ण आधार शिविरमा यही जेठ १७ देखि १९ गते सम्म पदयात्रा गरिने भएको छ । पदयात्रामा फ्रान्स र नेपालका विशिष्ट व्यक्तिहरुको सहभागिता हुने टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए ।

त्यस्तै आधार शिविरबाट ३० किलोमिटर दूरीको म्याराथन दौडसमेत आयोजना गरिएको अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भरतकुमार पुनले जानकारी दिए । आधार शिविरमा प्रथम आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको सालिक अनावरण गरिने पुनले बताए ।

नारच्याङबाट आधार शिविर जोड्ने पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामाकराण गरिएको छ । उक्त पदमार्गको साथै सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष पुनले जानकारी दिए ।

८ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ। सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको ३ वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो। नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्म भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनामा जेठ १६ देखि २२ गतेसम्म हिरक महोत्सव मनाउन लागिए हो।

मौरिस हार्जोगका छोरा माथियास इमानुएल म्याक्सिमिलियन हार्जोग र उनका परिवारसहितको १४ सदस्यीय टोली नेपाल आइपुगेको छ । नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान), अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) र अन्नपूर्ण गाउँपालिकाले महोत्सवको संयुक्त आयोजनामा हिरक महोत्सव मनाउन लागिएको हो । यसअघि काठमाडौं र पोखरामा कार्यक्रम गरेर अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएको थियो।