पर्वतारोहणलाई सुुरक्षित बनाउन सरकार क्रियाशील छः प्रधानमन्त्री

-


     मर्दी न्युज    
     जेठ २१ गते २०८२ मा प्रकाशित


म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताका छन् ।
अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा आज अन्नपूर्ण गाउँपालिकाले अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आयोजना गरेको समारोहमा प्रधानमन्त्री ओलीले हिमाल आरोहणको जोखिम घटाउन सरकारले काम गरिरहेको बताए । “हिमाल आरोहणको जोखिम घटाउन सरकारले दक्ष जनशक्ति तयार र आरोहणमार्गमा आवश्यक पूूर्वाधार तयार पारेका कारण सगरमाथा आरोहण गर्नेको सङ्ख्या बढेको हो,” प्रधानमन्त्री ओलीले भने “अन्नपूर्णलगायत हिमालका आधार शिविर जोड्ने पदमार्ग निर्माण र स्तरोन्नतिका कार्यक्रममा पनि सरकारको ध्यान गएको छ ।”

प्रधानमन्त्री ओलीले म्याग्दी हुदै मुस्ताङको कोरला नाका जोड्ने कालीगण्डकी ‘कोरिडोर’ को स्तरोन्नतिलाई पनि राज्यले प्रमुख प्राथमिकता दिएको बताए । कोरला नाकामा भौतिक पूर्वाधार निर्माण गर्न सरकार लागिपरेको बताए । पचहत्तर वर्षअघि फान्सका मौरिस हर्जोगको टोलीले अन्नपूर्ण आरोहण गरेर नेपालको पर्वतारोहणको सम्भावनाको ढोका खोलिदिएको स्मरण गर्दै उनले पर्वतीय पर्यटनको विकासमा शेर्पा समुदायले गरेको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले भने “मौरिसले लेखेको अन्नपूर्ण पुस्तकले नेपाल र यहाँका हिमाललाई विश्वमा चिनाउन योगदान गरेको छ ।”

सन् १९५० जुन ३ मा आरोही हर्जोगले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण आरोहण गर्नुभएको हो ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डले पर्यटकीय क्षेत्रलक्षित पर्यटन नीति र पर्यटन ऐनलाई सरकारले चाँडै ल्याउन लागेको बताए । उनले नेपालको पर्वतारोहण र पर्यटन क्षेत्रको विकासका लागि सरकारले ल्याउन लागेको ऐनले सहयोग पुग्ने बताउँदै आरोहण कल्याण कोषको स्थापना गरेर पर्वतारोहण क्षेत्रमा लागेका आरोही र पर्वतारोहीलाई सरकारले सहयोग गर्ने जानकारी दिए ।

सोही कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा, नेपालका लागि फ्रान्सका राजदुत भिर्जिनी कोर्ताभाल, गण्डकी प्रदेशका पर्यटन तथा उद्योग मन्त्री मित्रलाल बत्स्याल र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आजभन्दा ७५ वर्ष पहिला अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर मौरिस हर्जोगले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वमा चिनाउनुका साथै हिमाल आरोहणका क्षेत्रको विकासमा सहयोग पु¥याएको बताएका थिए ।

सन् १९५० जुन ३ तारिख अर्थात् आजैको दिन पहिलोपटक ८ हजार मिटरभन्दा अग्लो अन्नपूर्ण प्रथम हिमालमा मानव पाइला परेको थियो । सगरमाथा हिमालको आरोहणभन्दा ३ वर्ष पहिले फ्रान्सेली नागरिक मौरिस हर्जोग र लुईस लचेनलले पाइला टेकेपछि विश्वका ८ हजार मिटर अग्ला हिमालमा पहिलोपटक आरोहणको आरम्भ भएको हो । अहिले अन्नपूर्ण प्रथमको आधारशिविर जाने पदमार्गलाई मौरिस हर्जोग पदमार्ग नामकरण गरिएको छ ।