
पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालद्वारा संचालित तमु विद्यार्थी छात्रवृत्ति वितरण कार्यक्रम यही असार ६ गते, शनिबार गोर्खा जिल्लाको हरमटारीमा सम्पन्न भएको छ ।
तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद् गोर्खाको समन्वय र व्यवस्थापनमा सम्पन्न उक्त कार्यक्रममा गोर्खा जिल्लाका विभिन्न ग्रामीण भेगका सार्वजनिक विद्यालयका ३० जना तमु विद्यार्थीहरुलाई जनही वार्षिक रु ८,०००/- को दरले छात्रवृत्ति रकम वितरण गरेको हो । यो रकम विद्यार्थीहरुले कक्षा ९ देखि १२ सम्म निरन्तर चार वर्षसम्म प्राप्त गर्नेछन् । विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, पत्रकार, शिक्षक, अभिभावकहरु र विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा तमु ह्युला छोंज धीं गुरुङ राष्ट्रिय परिषद, गोरखा जिल्ला कार्यसमितिका अध्यक्ष रामबहादुर तमु, विद्यार्थी एलिना तमु, कार्यक्रम संयोजक तथा संस्थाका प्रथम उपाध्यक्ष श्रीजङ तमुले आआफ्ना भनाइ राखेका थिए भने संस्थाका सदस्य लोकबहादुर तमुले मोटिभेसनल स्पिच दिएका थिए।
प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुको नेतृत्वमा सात जनाको समूह गोर्खा पुगी आयोजना गरिएको यस तेस्रो चरणको कार्यक्रमको अध्यक्षता अध्यक्ष तमुले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव कन्चन तमुले गरेका थिइन् ।

यसअघि गत जेठ ३१ गते, शनिबार लमजुङ जिल्लाको सदरमुकाम बेसीशहर स्थित गुरुङ सङ्ग्राहलयमा गइ पोखरामा उपस्थित हुन कठिनाइ भएका यस जिल्लाका १६ जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका थिए ।
संस्थाका अध्यक्ष चित्रबहादुर तमुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम कार्यक्रम संयोजक श्रीजङ तमुले सञ्चालन गरेका थिए ।

