
पोखरा । पोखरामा २० औं संस्करणको रोपाई महोत्सव मनाइएको छ ।
पोखरा महानगरपालिका–२६ गुँदे ताल क्षेत्रमा पोखरा पर्यटन परिषद्को आयोजनामा २० औं संस्करणको रोपाई महोत्सव मनाइएको हो ।
‘पोखरा सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरामा भएको यो रोपाई महोत्सवले अफ सिजनमा पनि पर्यटकको आकर्षण बढाउन सकिन्छ भन्ने सन्देश दिएको छ । महोत्सवमा पर्यटकले हिलोमा रमाइलो गरी हिलो छ्यापाछ्याप गरेर रोपाईँ महोत्सव मनाएका छन् ।
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेसा खेतीपाती हो ।
महोत्सवले किसानलाई मात्र नभई कृषि पर्यटनमार्फत विदेशीहरु भित्र्याउन सकिने आयोजकको विश्वास छ ।
हराउँदै गएको कृषि प्रणालीलाई जगेर्ना गर्न र पोखराको पर्यटन चलायमान गर्न महोत्सवको मुख्य उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताए ।
२०६१ सालदेखि हरेक वर्ष हुने रोपाईँ महोत्सवमा हिले दौड, रोपाई प्रतियोगिता, रस्साकस्सी, हिलोमा माछा समाउने जस्ता प्रतियोगिता गरिँदै आएको छ । जसमा विदेशी पर्यटकहरुको समेत उत्साहपूर्ण सहभागिता रही आएको छ ।
त्यस्तै देवीस्थान सेवा समाज हेमजाको आयोजनामा आजै पाचौं हेमजा हिले महोत्सव सम्पन्न भएको छ । हेमजा भएकोे हिले महोत्सव अन्तर्गत हिलेदौंड, रस्साकस्सी, कृषि झाँकी प्रदर्शन, धान रोपाई प्रतियोगिता, उत्कृष्ठ किसान सम्मान, आमा समूह बीच असारे भाका, हिलोमा भाले तथा माछा समाउने लगायत प्रतियोगिता भएका छन् ।
हेमजालाई कृषि पर्यटनसंग जोड्न, विष्णुपादीका धार्मिक क्षेत्रको प्रवद्र्धन गर्न, किसानको सम्मान युवाहरूलाई कृषिमा प्रोत्साहनका गर्नका लागि महोत्सवलाई निरन्तरता दिएको समाजका अध्यक्ष कृष्णमान श्रेष्ठले बताए ।
त्यस्तै नेपाल किसान महासंघ कास्कीको आयोजनामा पोखरा महानगरपालिका वडा नं. १४ को समन्वयमा खाल्टेमसिनामा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवमा सम्पन्न भएको छ ।
उक्त महोत्सवको उद्घाटन मन्तव्य दिंदै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले धान जीवन, संस्कृति र आत्मनिर्भरको मेरुदण्ड भएको बताए ।
‘धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । माटो बचाऊ, धान फलाऊ भन्ने मूल नाराको मर्म आत्मसात गर्दै कृषि पेसाप्रति सम्मान र प्रवद्र्धन गर्न आवश्यक छ,’ उनले भने । मन्त्री थापाले कृषकहरुले पसिना बगाएर हामीले अन्न खान पाएको उल्लेख गरे । कृषिलाई व्यवसायिक, प्रविधिमैत्री र युवामैत्री बनाउन आवश्यक रहेको उनले औंल्याए ।