‘कुलिङ अफ पिरियड’को गडबडी छानबिन गर्न विशेष समिति घोषणा

-


     मर्दी न्युज    
     असार २३ गते २०८२ मा प्रकाशित


काठमाडौँ । संघीय निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको भन्ने गुनासोका विषयमा छानबिन गर्न प्रतिनिधि सभाले विशेष समिति गठन गरेको छ।

प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख देवराज घिमिरेले उक्त समिति गठन गरिएकोबारे औपचारिक जानकारी गराएका हुन् ।

संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धमा प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट पेस भएको प्रतिवेदन, समितिमा भएको छलफल, सैद्धान्तिक सहमति, माइनट र विद्युतीय अभिलेख (अडियो-भिडियो) भन्दा फरक अर्थ झल्किने गरी ‘कुलिङ अफ पिरियड’सम्बन्धी व्यवस्था उल्लेख भएको भन्ने गुनासो आएको थियो।

त्यसैको अध्ययन र छानबिन गर्न प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १८० बमोजिम उक्त समिति गठन गरिएको हो ।समितिको संयोजक नेपाली काँग्रेसका सांसद एवं सहमहामन्त्री जीवन परियार तोकिएका छन् ।

सभामुख घिमिरेका अनुसार समितिमा नेपाली काँग्रेसबाट जीवन परियार संयोजकसहित र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा (माओवादी केन्द्र) बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की रहेका छन् ।

समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको सभामुख घिमिरेले जानकारी गराए ।