
सिन्धुली छाडेर पोखरा आइपुगेको हायू परिवार सोमबार गाउँ फर्किंएका छन् । साउन ८ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट हराएको सो परिवार साउन ११ गते पोखरामा भेटिएको थियो ।
गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष रविन श्रेष्ठले सोमबार उनीहरुलाई आफ्नो साथमा गाउँ फर्काएका छन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र वडा नम्बर ३० का वडाध्यक्ष दुर्गा सुवेदीले उक्त परिवारलाई बिदाइ गरे ।
गोलन्जोर–६ स्थित आफ्नो घरमा बस्दा परिवारलाई नै क्षति हुने भन्दै आफूहरू त्यहाँबाट हिँडेको उनीहरूले बताउँदै आएका छन् । कोही कसैलाई केही जानकारी नै नदिई बाख्रा, भैँसी समेत घरमै छाडेर उनीहरू सर्म्पकविहीन भएका थिए । हायू परिवारलाई वडा कार्यालयले सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेपछि उनीहरु गाउँ फर्कन राजी भएका हुन् ।

