पोखरा महानगर र लक्ष्मी ग्रुपबीच ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर

-


     मर्दी न्युज    
     श्रावण २२ गते २०८२ मा प्रकाशित


पोखरा । पोखरा महानगरपालिका र लक्ष्मी ग्रुप (लक्ष्मी फाउण्डेसन)बीच ताल सरसफाई सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । तालहरूको दीगो संरक्षण र विकासका लागि ‘ताल संरक्षण र विकास परियोजना’ सञ्चालन गर्न लक्ष्मी ग्रुपसँग यी दुई संस्थाबीच सम्झौता भएको हो । सम्झौता पत्रमा पोखरा महानगरपालिकाका तर्फबाट मेयर धनराज आचार्य र लक्ष्मी फाउण्डेसनको तर्फबाट अध्यक्ष गणेशबहादुर श्रेष्ठले हस्ताक्षर गरे ।

परियोजना अन्तर्गत पहिलो चरणमा फेवाताल, बेगनासताल, रूपाताल, दीपाङ ताल, गुँदे ताल, कमल पोखरा, न्यूरेनी ताल र खास्टले तालको अवस्थालाई अध्ययन गरेर दीगो संरक्षणका लागि कार्य गर्नेछ ।

सम्झौता अनुसार लक्ष्मी फाउण्डेसनले पोखरामा रहेका तालहरुको सरसफाई गर्नेछ । जस अनुसार फाउण्डेसनले तालको पानी निर्मलीकरण गरेर सफा र स्वच्छ बनाउने छ । त्यस्तै, तालमा रहेका फोहोरहरु र जलकुम्भी झारको सरसफाई गर्नुका साथै त्यसलाई रोजगारीसँग जोड्ने सम्झौता पत्रमा उल्लेख छ । ताल क्षेत्रमा रहेका बस्ती र सरोकारवालासँग छलफल, जनचेतना अभिवृद्धि, वातावरणीय प्रभाव मूल्यांकन र व्यवस्थापन योजना तयार गरिने सम्झौता पत्रमा उल्लेख छ ।