
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ । देशका मुख्य शहरहरूमा समेत फैलिएको यस प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ठूलो मानवीय क्षति भएको हो।
विभिन्न अस्पतालबाट प्राप्त जानकारी अनुसार, मृत्यु हुनेहरूमध्ये ट्रमा सेन्टरमा ८ जना, एभरेस्ट अस्पतालमा ३ जना, सिभिल अस्पतालमा ३ जना, त्रिवि शिक्षण अस्पतालमा १ जना र केएमसी अस्पतालमा २ जना रहेका छन्। यसैगरी, इटहरीमा पनि प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको पुष्टि भएसँगै कुल मृतकको संख्या १९ पुगेको छ।
प्रदर्शनका क्रममा ३४७ जना घाइते भएका छन्, जसको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूमध्ये सिभिल अस्पतालमा १०० जना, ट्रमा सेन्टरमा ५९ जना, एभरेस्ट अस्पतालमा १०२ जना, केएमसीमा ३७ जना, वीर अस्पतालमा ६ जना, पाटन अस्पतालमा ४ जना, त्रिवि शिक्षण अस्पतालमा १८ जना, नर्भिक अस्पतालमा ३ जना, बीपी प्रतिष्ठानमा २ जना, गण्डकी मेडिकल कलेजमा १ जना, विराट मेडिकल कलेजमा ४ जना र दमक अस्पतालमा ७ जनाको उपचार भइरहेको छ।
एभरेस्ट अस्पतालका अधिकारी अनिल अधिकारीका अनुसार त्यहाँ ४ जनाको अवस्था गम्भीर छ। यस्तै, ट्रमा सेन्टरका डा. दीपेन्द्र पाण्डेले ट्रमामा उपचाररत १० जना गम्भीर अवस्थामा रहेको र उनीहरूको टाउको तथा छातीमा गोली लागेको जानकारी दिएका छन्।

