ठोस नतिजा निकाल्ने गरी अघि बढ्न कर्मचारीलाई मन्त्री पुनको निर्देशन

-


     मर्दी न्युज    
     असाेज ६ गते २०८२ मा प्रकाशित


काठमाडौँ । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले ठोस नतिजा निकाल्ने गरी अघि बढ्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

सोमबार केशरमहलस्थित मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्री पुनले अनावश्यक र औचित्यहीन समिति गठनमा आफूलाई रुचि नभएको बताएका छन् ।

पदभार ग्रहणका बेला मन्त्रालयका सचिवसहितको टोलीले मन्त्रीको पहिलो निर्णयमा हस्ताक्षर गरिदिन आग्रह गर्दा उनले नाम मात्रको समिति गठन गर्न जरुरी नरहेको बताए ।

‘हाजिर गर्ने, दुई चार पटक मिटिङ बस्ने, सदस्य भएर एउटा पद लिने, म चैँ यो समितिको सदस्य हुँ भनेर भिजिटिङ कार्डमा नाम लेख्ने मात्रै भएन के, अब ठोस काम होस् भन्ने म चाहन्छु,’ उनले भने ।

सो क्रममा उनले पटक पटक नाम मात्रैको समिति नबनाउन कर्मचारीहरूलाई निर्देशन दिए । पुनले विद्यालय शिक्षा ऐनबारे विज्ञहरूको टिम बनाएर काम गर्ने बताएका छन् ।

पदभार ग्रहरण गरेपछि सञ्चारकर्मीसँग मन्त्री पुनले आफू मन्त्री क्वार्टरमा नबस्ने बताए । मन्त्रालयमै कोठा मिलाउन उनले निर्देशन दिए ।

‘मन्त्री क्वार्टर चाहिँदैन । यहीँ कोठा बनाउनू । सुत्ने खाट र टेबल भए पुग्छ । आफैं पकाएर खान्छु,’ मन्त्री पुनले भने ।

सुरक्षाकर्मीलाई पनि मन्त्रालयमै बस्न आग्रह गरे । सरकारी कामबाहेक अन्य ठाउँमा जाँदा सरकारी गाडीको प्रयोग नगर्ने उनले घोषणा गरे ।