
नेकपा (एमाले)का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् ।
नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीबार गुन्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार संविधान अनुसार नभई बलमिच्याँइले बनेको दाबी गरे । उनले भने, ‘यो सरकार नेपालीको प्रतिनिधि होइन, अन्त कतैको हो थाहा छैन । कसैले छानेको सरकार होइन यो । उनीहरू एउटा खास उद्देश्यले काम गरिरहेका छन् ।’
उनले आफूलाई पक्राउ गर्ने लगायतका विषय उठाएर गृहमन्त्री ओमप्रकाश अर्याललाई धेरै नउत्ताउलिन चेतावनी पनि दिएका छन् । उनले देश चलाउने ठट्टा नभएकाले ख्याल गर्न उल्लेख गरे ।
‘पासपोर्ट रोक्का रे । डाँडो काट्न नहुने हो रे । सुशीला कार्की डरको डरले केपी ओली भाग्छ ? उनले भने, ‘हुन त म अहिलेका गृहमन्त्रीलाई चिन्दिन । तर म गृहमन्त्री बाबुलाई धेरै नउत्तालिन र नचम्किन सुझाव दिन चाहन्छु । राजनीति चलाउने देश चलाउने ख्याल ठट्टा होइन ।’
उनले आफू देशको स्वाभिमानका लागि बलिदान दिन तयार रहेकाले एमालेलाई नजिस्क्याउन चेतावनी दिए ।
‘हामी जेल नेल भोगेर आएका हौँ । हाम्रा लागि यो नयाँ कुरा होइन,’ उनले भने, ‘देशको स्वाभिमानका लागि बलिदान दिन तयार छौँ हामीलाई जिस्काइरहनु पर्दैन । हामीले जनताको शासन भनेर ल्याएका हौ । लडेका हौँ ।’

