
नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले विजयी सुरुवात गरेका छन्। टियु क्रिकेट मैदानमा सोमबार भएको उद्घाटन खेलमा काठमाडौंले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको हो।
जनकपुरले दिएको १३१ रनको लक्ष्य काठमाडौंले १८ ओभरमा ५ विकेटको क्षतिमा पूरा गरेको थियो। काठमाडौंका लागि बेन चार्ल्सवर्थले सर्वाधिक ४६ रन बनाए। त्यस्तै आका त्रिपाठीले ३९, मिलिन्द कुमारले १९ र जोह्न सिम्पसनले १३ रन बनाए।
जनकपुरका लागि किशोर महतो, अनिल शाह, ललितनारायण राजवंशी, रुपेश सिंह र सञ्जय कृष्णमूर्तिले एकएक विकेट हात पारे ।
पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले २० ओभरमा छ विकेट गुमाएर १३० रन बनाएको थियो ।

