पाल्पाको मित्यालमा जिप दुर्घटना, तीन जनाको मृत्यु

-


     मर्दी न्युज    
     मंसिर २६ गते २०८२ मा प्रकाशित


पाल्पा । पूर्वी पाल्पाको निस्दी गाउँपालिकास्थित मित्याल अरुण खोला सडक अन्तर्गत निस्दी ४ मित्यालमा जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पाल्पाको मित्यालदेखि नवलपुर जिल्लाको लागि छुटेको लु १ ज ३९०८ नम्बर को फोर्स जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुर पाल्पाले जनाएको छ । उक्त सडकको चिउरेबास पहिलो घुम्ती नजिक एकल फुक्सी भन्ने ठाउँमा रोकेर मान्छे झार्ने क्रममा झन्डै ६ सय मिटर तला खोल्सामा जिप खसेको हो ।

जिपमा कति यात्रु सवार थिए भन्ने यकिन नभए पनि ५ जना घाइतेलाई भने उद्धार गरी रामपुर अस्पताल पठाइएको छ । घाइतेको स्थानीय र मित्याल प्रहरी चौकीबाट खटिएको टोलीले उद्धार जारी राखेका छन् ।

दुर्घटना भएको स्थल आग्लो भिर भएकोले उद्धारमा कठिनाइ भएको मित्यालका स्थानीय पुनाराम सुनारीले जानकारी दिए ।

घटनाको बारेमा थप अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमान्डमा थप टोली खटिएको छ ।
दुर्घटनामा मृत्यु भएका तीन जनाको भने परिचय खुल्न सकेको छैन ।