चार मन्त्री थपिएसँगै मन्त्रिपरिषद् १४ सदस्यीय, नवनियुक्त मन्त्रीहरूद्वारा पदभार ग्रहण

-


     मर्दी न्युज    
     मंसिर २६ गते २०८२ मा प्रकाशित


काठमाडौँ। नवनियुक्त ४ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारका नवनियुक्त मन्त्रीहरूले शीतल निवासस्थित राष्ट्रपति भवनको परिसरमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

सपथ लिनेमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा राजेन्द्रसिंह भण्डारीले सपथ लिए । वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले पनि सपथ लिएका छन् । यो विस्तारसँगै मन्त्रिपरिषद् सदस्यको संख्या १४ पुगेको छ ।

नवनियुक्त मन्त्री श्रद्धा श्रेष्ठले सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गरिन् । उनले सार्वजनिक निकायलाई लैङ्गिक दृष्टिले उत्तरदायी बनाउन तयार पारिएको ‘राष्ट्रिय लैङ्गिक परीक्षण कार्यविधि–२०८२’ को मस्यौदा स्वीकृत गर्ने निर्णय गरिन् । श्रेष्ठ नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक पनि हुन् । उनले अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीबाट आर्थिक विकासमा अध्ययन गरेकी छन् । उनी संयुक्त राष्ट्रसंघको संयुक्त परियोजना ‘दिगो पर्यटन परियोजना’ (एसटिपी) की राष्ट्रिय परियोजना संयोजक समेत थिइन् ।

श्रममन्त्री राजेन्द्रसिंह भण्डारीले पनि मन्त्रालयमा पदभार ग्रहण गरे । उनले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताए । सरकारको समय छोटो भए पनि १ दिनलाई १ घण्टा मानेर काम गर्ने उनले प्रतिबद्धता जनाए । लामो समय सिआइबीको संस्थापक भएर काम गरेकाले संगठित अपराधको जालो तोड्ने कार्ययोजना बनाउने उनले सुनाए । उनले भने, ‘प्रहरी र जेनजी पुस्ताबीचको नकरात्मक खाडललाई हटाउनु पनि छ ।’ उनले हरेक प्रहरी दमनकारी नहुने र हरेक जेनजी विध्वंसकारी नहुने महसुस गराउने बताए । जेनजीको जति पीडा छ, नेपाल प्रहरीको पनि उत्तिकै रहेको उनको भनाइ छ । दुवै पक्षले क्षति व्यहोर्नुपरेको र दुवैको आवाज मन्त्रिपरिषद्मा लैजाने उनले बताए । प्रहरी सेवाबाट अवकाश भएको करिब १ दशकपछि उनी मन्त्री बनेका हुन् । अवकाशको समयमा उनी लेखन र पठनपाठनमा सक्रिय थिए ।

नवनियुक्त मन्त्री कुमारसिंह इङ्नामले पनि सिंहदरबार पुगेर पदभार सम्हाले । मन्त्रालयका सचिव मदन भुजेललगायत कर्मचारीले उनलाई स्वागत गरे । सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाँझो जमिनको अधिकतम उपयोग गर्नुपर्ने बताए । नेपालको जमिन उर्बर भए पनि भूउपयोग कमजोर रहेको उनको भनाइ छ । उनले भने, ‘कृषिमा धेरै नेपाली आश्रित छन्, किसानलाई सहजीकरण र उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन्छाैँ ।’