रामकोट माविको स्वर्ण महोत्सव जारी, सोमवार वृहत स्वास्थ्य शिविर हुदै

-


     सन थापा    
     पुस २० गते २०८२ मा प्रकाशित


पोखरा, २० पुस । रूपा गाउॅंपालिका–७ मा अवस्थित रामकोट माविको यही पुस १८ गतेबाट सुरु भएको स्वर्ण महोत्सव जारी रहेको छ । महोत्सवको विविध कार्यक्रम अन्तर्गत पुस १९ गते अन्तर सदनात्मक खेलकूद र २० गते वडास्तरीय (कक्षा १–५) हाजिरीजवाफ प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।

त्यसैगरी पुस २१ गते सोमवार रोटरी क्लव अफ पोखरा मिडटाउनको सहयोगमा वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ । उक्त शिविरमा फिजिसियन,सर्जरी,स्त्री तथा प्रसुती रोग, बालरोग, हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटी, आँखा, रोगसम्बन्धि परीक्षण तथा अल्ट्रासाउण्ड र अन्य सेवाहरू उपलब्ध हुने विद्यालयले जनाएको छ ।

त्यस्तै पुस २२ गते रूपा गाउॅंपालिका स्तरीय लोकनृत्य प्रतियोगिता, २३ गते पुनर्मिलन एवम् खुल्ला कविता प्रतियोगिता हुनेछ । २४ गते नेपाल विश्वविद्यालयका उपकुलपति डा. अर्जुन कार्कीको प्रमुख आतिथ्यतामा मूल समारोह कार्यक्रम हुनेछ । सो कार्यक्रममा स्वर्ण महोत्सव स्तम्भ अनावरण, झाँकी प्रदर्शनी, भजन–चुट्का लगायतको साँस्कृतिक प्रस्तुति, शुभकामना मन्तव्य र साँझमा दीपावली गरिने मूल आयोजक समितिका सदस्य एवम् अर्थ संकलन उपसमितिका संयोजक विमलवावु न्यौपानेले बताए ।

विसं.२०३२ सालमा स्थापना भएको यस विद्यालयमा हाल १ देखि १२ कक्षासम्म पठनपाठन हुदै आएको छ । विद्यालयको अभिलेख अनुसार २०३५ सालदेखि एसएलसी परीक्षामा सामेल भएको यस विद्यालयबाट २०८१ सम्म कुल २ हजार ३४० जना विद्यार्थीहरू सहभागीता भएका छन् ।

त्यस्तै २०५८ सालमा १०ं२ कक्षा सञ्चालन भएपछि पहिलोपटक २०६० सालमा कक्षा १२ को परीक्षामा सहभागीता जनाएको हो । हालसम्म कक्षा १२ को परीक्षामा ८ सय ८५ जनाले सहभागीता जनाएका छन् ।

त्यस्तै ३ वर्षे डिप्लोमा तह बालीविज्ञान विषयको २०७७ र ०७८ सालको सेमेष्टर गरी ३४ जना र १८ महिने बालीविज्ञान विषयमा २०७५ र ०७६ सालमा गरी १६ जनाले सहभागी जनाएका छन् ।