
तस्विरः विमलवावु न्यौपाने
पोखरा, २२ पुस । कास्कीको रूपा गाउॅंपालिका–७ मा रहेको रामकोट माविमा सोमवार वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
विद्यालयले स्वर्ण महोत्सवको चौथो दिन रोटरी क्लव अफ पोखरा मिडटाउनको सहयोगमा सम्पन्न शिविरमा करीव ३ सय जना लाभान्वित् भएको मूल आयोजक समितिका सदस्य एवम् अर्थ संकलन उपसमितिका संयोजक विमलवावु न्यौपानेले जानकारी दिए । उक्त शिविरमा फिजिसियन, सर्जरी, स्त्री तथा प्रसुती रोग, बालरोग, हाडजोर्नी, दन्तरोग, नाक, कान, घाँटी,आँखा, रोग सम्बन्धि परीक्षण तथा अल्ट्रासाउण्ड लगायतका सेवाहरू उपलब्ध गराएको थियो ।

शिविरमा वरिष्ठ सर्जन डा. भोजराज न्यौपाने, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. चण्डिका पण्डित, वरिष्ठ बालरोग विशेषज्ञ डा. हुमप्रसाद न्यौपाने, वरिष्ठ रेडियोलोजिष्ट डा. आनन्द श्रेष्ठ, डा. अध्यात्म घिमिरे लगायतका स्वास्थ्यकर्मीहरु बिरामीहरूको स्वास्थ्य परीक्षण र उपचार सेवामा खटिएका थिए ।
मूल आयोजक समितिका संयोजक नारायणकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद न्यौपाने स्वागत मन्तव्य, रोटरी क्लव अफ पोखरा मिडटाउनका अध्यक्ष उपेन्द्र पौडेल, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. चण्डिका पण्डित, इनरविल क्लव पोखरा टाउनका अध्यक्ष यशोदा वास्तोलाले मन्तव्य व्यक्त गरेका थिए भने सहायक प्रधानाध्यापक विष्णुहरि सुवेदीले सञ्चालन गरेका थिए ।


