
कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भुमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन् ।
कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताएका हुन् ।
सभापति थापाले देश जसले पनि जलाउन सक्ने भन्दै नेपाललाई अहिले सम्हाल्न सक्ने शक्तिको खाँचो रहेको बताए। “नागरिकमा रिस गहिरो छ । राज्यका संस्था, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ । यसलाई सुधारबाटै जवाफ दिनु आवश्यक छ” सभापति थापाले भने, ‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले । आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ । त्यो तागत हामीले राख्नुपर्ने छ ।’
मुलुकमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको उनको तर्क छ । उनले देश विकासको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार रहेको भन्दै त्यसका विरुद्ध लड्ने योद्धा बदलिएर आएको काँग्रेस मात्रै हुने जिकिर गरे। हिजो हिंसाको आहालबाट जस्तै भ्रष्टाचारको आहालबाट पनि देशलाई बाहिर निकाल्ने बताए।

