
आइसिसी टी-२० विश्वकपअन्तर्गत आफ्नो दोस्रो खेलमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ।
मुम्बईस्थित वानखेडे रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले तीन बल अगावै अल आउट हुँदा मात्र १२३ रनको योगफल बनाएको हो।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २७ रन बनाए। उनले २४ बलमा ३ चौका प्रहार गरे। ओपनर आसिफ शेखले २० रन बनाए। कप्तान रोहित पौडलले २३, दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए। त्यसपछि आएका ३ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
१५.३ ओभरमा ५ विकेटको क्षतिमा १०० रन पूरा गरेको नेपालले त्यसपछि २ रन जोड्न ३ विकेट गुमायो। नवौं विकेटको रूपमा सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए। ललित राजवंशी अन्तिम विकेटको रुपमा रनआउट भए। करण केसी १८ रनमा अविजित रहे।
इटालीका लागि बलिङतर्फ कृसन कालुगामागेले ३ विकेट लिए। वेन मानेटीले २ विकेट लिँदा अलि हसन, जे जे स्मुटुस र जसप्रित सिंहले १-१ विकेट लिए। नेपाल र इटालीले पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेलिरहेका छन्।

