युएईमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन दूतावासको आग्रह

-


     मर्दी न्युज    
     फागुन १६ गते २०८२ मा प्रकाशित


काठमाडौं ।संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले युएईमा रहेका नेपाली नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ।

नेपाली दूतावास आबुधावीले ट्राभल एडभाइजरी जारी गर्दै नेपालीहरूलाई अनावश्यक यात्रा नगर्न, सावधानी अपनाउन र युएई सरकारले जारी गरेको सुरक्षा निर्देशको पालना गर्न अनुरोध गरेको हो । दूतावासले एक विज्ञप्ति जारी गर्दै यूएई सरकार तथा नेपाली दूतावासरमहावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको हो ।

विज्ञप्तिमा मध्यपूर्वको सिर्जित अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिमबाट जोगिन सचेत रहन भनिएको छ ।
दूतावासले विशेषगरी अनावश्यक आवागमन कम गर्न, भीडभाडयुक्त स्थानहरूबाट टाढा रहन र आधिकारिक स्रोतबाट आउने सूचनामात्रै विश्वास गर्न आग्रह गरेको छ ।

दूतावासका अनुसार आपतकालीन सूचना, सल्लाह तथा सहयोगका लागि अबुधाबीस्थित नेपाली दूतावास र दुबईस्थित नेपाली महावाणिज्य दूतावाससँग सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।

दूतावासले आपतकालीन अवस्थामा सम्पर्क गर्नका लागि फोन नम्बर इमेल ठेगाना पनि सार्वजनिक गरिएको छ ।अबुधाबीस्थित दूतावासको आपतकालीन सम्पर्क नम्बर:९७१ ५० ८१८०२८० रहेको छ भने दुबईस्थित नेपाली महावाणिज्य दूतावासको फोन,ह्वाट्सएप नम्बर:९७१ ५० ३९४९३०४ रहेको छ ।