पोखरामा महिलालाई यौनजन्य गतिविधिमा लगाएको आरोपमा २ जना पक्राउ, ४ महिलाको उद्धार

-


     मर्दी न्युज    
     चैत्र ३ गते २०८२ मा प्रकाशित


पोखरा । पोखराका विभिन्न खाजाघरमा महिलालाई प्रलोभनमा पारी यौनजन्य गतिविधिमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नम्बर ८ स्थित जाल्पा रोडको एक खाजाघरबाट ४ जना महिलाको उद्धार गर्दै सो कार्यमा संलग्न दुई पुरुषलाई नियन्त्रणमा लिएको हो ।

डिएसपी बस्नेतका अनुसार चैत्र १ गते दिउँसो करिब ४:३० बजे पोखरा – ८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा होहल्ला तथा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली परिचालन गरिएको थियो।

पक्राउ पर्नेमा भारत घर भई हाल पोखरा महानगरपालिका १४, चाउथे बस्ने २४ वर्षीय राधे श्याम शाह र बागलुङको काठेखोला गाउँपालिका ४ घर भई हाल पोखरा १, बगर बस्ने २८ वर्षीय खेमु थापा रहेका छन् ।

उनीहरुले आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो तलब र खानबस्ने सुविधासहित होटलमा काम लगाइदिने प्रलोभन देखाई अनैतिक कार्यमा लगाउने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनाविरुद्ध कास्की जिल्ला अदालतबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ।