
पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले झुटा विवरण पेश गरी दोहोरो नेपाली नागरिकता लिएको आरोपमा पोखराबाट एक जना पक्राउ परेका छन् । झुटा विवरण पेस गरि कास्कीबाट नागरिकता लिएको आरोपमा हीराधन पुनपक्राउ परेका हुन् ।
साविक रुकुम जिल्लाको कोल गाउँ विकास समिति वडा नम्बर १ घर भएका जितबहादुर पुनका छोरा हीराधन पुनलाई दोहोरो नागरिकता प्रकरणमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको हो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले सार्वजनिक गरेको विवरण अनुसार पुनले यसअघि नै जिल्ला प्रशासन कार्यालय रुकुमबाट पहिलो पटक नागरिकता लिएका थिए । उनले २०४७ फागुन २९ गते रुकुमबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेको देखिएको छ ।
यसरी पहिलो नागरिकता लिएको ११ वर्षपछि पुनले पुनः जिल्ला प्रशासन कार्यालय कास्कीबाट अर्को नागरिकता निकालेका हुन् ।
उनले २०५८ वैशाख २० गते कास्की प्रशासनबाट दोस्रो पटक नागरिकताको प्रमाणपत्र लिएका थिए । दोस्रो पटक नागरिकता लिँदा पुनले आफ्नो वास्तविक नाम, थर, जन्म मिति, जन्मस्थान, स्थायी ठेगाना र बाबुको नाम थर समेतको विवरण फरक पारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालका अनुसार झुटा विवरण दिएर दोहोरो नागरिकता लिएको विषयमा थप छानबिन गर्नुपर्ने भएकाले उनलाई नियन्त्रणमा लिइएको हो । पक्राउ परेका उनलाई हाल जिल्ला प्रहरी कार्यालय कास्कीमा राखेर अनुसन्धान जारी राखिएको उनले जानकारी दिए । उनीमाथि दोहोरो नागरिकता लिएको विषयमा अनुसन्धान भइरहेको उनले बताए ।

