पोखरा विमानस्थल अनियमितता प्रकरण : सुमनसँग धरौटी, खड्कालाई साधारण तारेख

-


     मर्दी न्युज    
     चैत्र ५ गते २०८२ मा प्रकाशित


काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा विशेष अदालतले दुई प्रतिवादीबारे थुनछेक आदेश जारी गरेको छ। अदालतले एक जनालाई धरौटीमा छाड्ने र अर्कालाई साधारण तारेखमा राख्ने निर्णय गरेको हो।

बिहीबार अदालतमा उपस्थित रतिशचन्द्र लाल सुमन र हरिबहादुर खड्काको निवेदनमाथि सुनुवाइ गर्दै इजलासले सुमनसँग पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ भने खड्कालाई तारेखमा राख्ने आदेश दिएको छ। उक्त आदेश विशेष अदालतका सदस्य नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासबाट जारी भएको हो।

अदालतका अनुसार सुमन विमानस्थल परियोजनासम्बन्धी सम्भाव्यता अध्ययन प्रतिवेदनमाथि छलफल तथा स्वीकृति प्रक्रियामा संलग्न रहेका थिए। साथै, प्राधिकरण सञ्चालक समितिको निर्णय प्रक्रियामा समेत उनको भूमिका देखिएको उल्लेख छ। उनी नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक तथा सञ्चालक समिति सदस्य-सचिवका रूपमा कार्यरत थिए।

त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत उपसचिव हरिबहादुर खड्काले निर्माण प्रक्रियासम्बन्धी टिप्पणी उठाएको आधारमा उनीमाथि अनुसन्धान गरिएको भए पनि अदालतले उनलाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो।

चीन सरकारको सहयोगमा निर्माण गरिएको उक्त विमानस्थल परियोजनामा अनियमितता भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत मंसिर २१ गते मुद्दा दायर गरेको थियो। सो प्रकरणमा आठ अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको आरोप लगाइएको छ।

मुद्दामा कुल ५५ जना प्रतिवादी रहेका छन् भने निर्माण कम्पनीसहित सबै पक्ष अदालतमा उपस्थित भइसकेका छन्। प्रतिवादीहरूको बयान र थुनछेक प्रक्रिया सकिएपछि अब मुद्दा नियमित सुनुवाइको चरणमा प्रवेश गर्नेछ।