
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्दै कुल ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो दाबी गरेको छ।
आयोगका अनुसार विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति प्रक्रियामा अनियमितता तथा भ्रष्टाचार भएको ठहर गरिएको छ। सोही आधारमा तत्कालीन उच्च पदस्थ अधिकारीहरूसहित २१ जनालाई प्रतिवादी बनाइएको हो।
प्रतिवादीमध्ये केदारबहादुर अधिकारी (तत्कालीन सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय), सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारी (तत्कालीन महानिर्देशकहरू, नागरिक उड्डयन प्राधिकरण) रहेका छन्।
आयोगले सरकारी स्रोतको दुरुपयोग गर्दै परामर्शदाता छनोटमा नियम विपरीत कार्य भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरेको जनाएको छ।

