फेवा किनारको विवादित जग्गाबारे गृह मन्त्री सुधन गुरुङसँग हर्क साम्पाङले मागे जवाफ

-


     मर्दी न्युज    
     चैत्र २३ गते २०८२ मा प्रकाशित


पोखरा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुधन गुरूङलाई फेवातालको २० रोपनी जग्गाबारे प्रष्ट पार्न सुझाव दिएका छन् । उनले यस विषयमा नैतिकताको सवाल उठेको भन्दै गृह मन्त्रीलाई तत्काल पत्रकार सम्मेलन गरेर यथार्थ सार्वजनिक गर्न माग गरे ।

फेवातालको २० रोपनी जग्गामा नाम मुछिएपछि उनले फेसबुकमार्फत् गृहमन्त्री गुरूङलाई जग्गाबारे प्रष्ट पार्न सुझाव दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘खास कुरा के हो पत्रकार सम्मेलन राखिहाल्नुस् । नैतिकताको सवाल खडा भयो । अब यो सवालको जवाफ नदिने हो भने जनताले कुरा काट्छन् र विश्वास गर्दैनन् । तपाईंलाई मान्दैनन् । प्रहरीले पनि टेर्न छाड्छन् ।’

काम गर्ने मान्छेको खुट्टा तातिने र काम गर्ने क्रममा अपजस पाइने स्मरण गर्दै उनले पोखराको फेवातालमा २० रोपनी जग्गा गृहमन्त्रीको नाममा रहेको खबरले सामाजिक सञ्जाल तात्दा नमज्जा लागेको बताएका छन् ।

गृह मन्त्री गुरुङले ‘जेन जी’ आन्दोलनको २३ गतेको घटनामा संलग्न दोषीहरूलाई पक्राउ गरेकोमा साम्पाङले धन्यवाद दिएका छन् । तर उनले २४ गतेको घटनाका दोषीलाई कारबाही गर्न र जीबी राईलाई पक्रेर रविलाई न्याय दिनुपर्ने माग समेत राखेका छन् । उनले गृह मन्त्रीलाई सम्बोधन गर्दै भने, ‘गलत काम गर्नेहरुको लिस्ट बनाएर कारवाही गर्दै हुनुहुन्छ, धन्यवाद छ, म यसलाई लाइक र एप्रिसिएट गर्छु ।’ उनले अझै अघि बढ्न शुभकामना दिँदै सदनमा उठाएका मुद्दाहरू नबिर्सन आग्रह गरे ।