
बीबीसी । संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले “सम्पूर्ण सभ्यता नष्ट हुने” चेतावनीसहित दिएको समयसीमा सकिन केही बेरअघि युद्धविरामको सहमति भएको हो।
संयुक्त राज्य अमेरिका र इरानले दुई साताका लागि युद्धविराम गर्ने घोषणा गरेका छन्। ट्रम्पले स्ट्रेट अफ होर्मुज खोल्न दिएको समयसीमा सकिनुभन्दा १० मिनेट अगाडी वार्ताको मध्यस्थता गरेका प्रधानमन्त्री शहबाज शरीफ युद्धविराम “तत्कालै लागु हुने” बताएका थिए।
उक्त समयसीमा नेपाली समय अनुसार बुधवार बिहान ५:४५ मा सकिँदै थियो।
पाकिस्तानी प्रधानमन्त्रीले इरान युद्धको समाधानका लागि भन्दै एप्रिल १०मा इस्लामाबादमा दुवै पक्षका प्रतिनिधिमण्डललाई आमन्त्रण पनि गरेका छन्।
इरानी विदेशमन्त्री अब्बास अराग्चीले इरानी सशस्त्र फौजको समन्वयमा स्ट्रेट अफ होर्मुजबाट सुरक्षित आवतजावत सुनिश्चित गरिने बताएका छन्। युद्धमा सामेल भएको इजरेलले पनि युद्धविराम सहमति पालना गर्ने विवरण आएको छ।
वार्तामा मध्यस्थको भूमिका खेलेको पाकिस्तानमार्फत् अमेरिकासामु युद्धविरामको १० बुँदे योजना पेस गरिएको इरानले पुष्टि गरेको छ।
युद्धविराम घोषणापछि इरानको सुप्रीम न्याश्नल सेक्युरिटी काउन्सिल (एसएनएससी) ले वक्तव्य जारी गर्दै ढिलोमा १५ दिनभित्र इस्लामाबादमा औपचारिक वार्ता हुने जनाएको छ। वार्तामा “युद्धमैदानमा इरानले हासिल गरेको जितलाई राजनीतिक वार्तामार्फत् सुदृढ गरिने” उसले जनाएको छ।
यसअघि इरानको सरकारी टेलिभिजन मार्फत् युद्धविरामको १० बुँदे योजना अघि सारिएको थियो। जसमा भविष्यमा इरानविरुद्ध आक्रमण नगर्ने सुनिश्चितता, स्ट्रेट अफ होर्मुजमा इरानको नियन्त्रणको निरन्तरता, युरेनियम प्रशोधनका लागि स्वीकृति दिइनुपर्ने लगायतका विषय उल्लेख थिए। तत्काल लागू युद्धविरामले मध्यपूर्वमा अमेरिका र इजरेलसँग चर्किएको इरानको तनाव कम हुने अपेक्षा गरिएको छ। तर विश्लेषकहरूले दीर्घकालीन शान्ति कायम हुन अझै कठिन चुनौतीहरू कायमै रहेको बताएका छन्।
युद्धविरामको सहमतिसँगै इन्धनको मूल्य घट्ने क्रम सुरु भएको छ। मङ्गलवारसम्म प्रतिब्यारल १०० अमेरिकी डलरमा कारोबार भइरहेको कच्चा तेलको मूल्य ९४.५ डलर प्रतिब्यारलमा झरेको छ। एशियाली शेयर बजार पनि युद्धविरामको सहमतिपछि उकालो लागेको छ।

