सरकारले फेरि बढायो सार्वजनिक यातायातको भाडा

-


     मर्दी न्युज    
     वैशाख १६ गते २०८३ मा प्रकाशित


सरकारले सार्वजनिक यातायातको भाडा फेरि बढाएको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडा समायोजन गरेको बताएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागु हुने विभागले जनाएको छ ।

अन्तरप्रदेश यात्रुबहाक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।

यही १२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सैद्धान्तिक सहमति लिएर यात्रुवाहक तथा मालवाहक सवारी साधनमा ५ प्रतिशतले भाडा वृद्धि गरिएको विभागको सूचनामा उल्लेख छ ।

बढेको भाडा विद्युतीय सवारीमा भने लागू हुने छैन । यदि विद्युतीय सवारीसाधनले भाडा बढाएमा कारबाही हुने विभागले चेतावनी दिएको छ । यसअघि चैत २५ गते भाडा बढाइएको थियो ।