नेपालले अमेरिकालाई ९ विकेटको हरायो,कुशल भुर्तेलको शतकीय पारी

-


     मर्दी न्युज    
     जेठ २ गते २०८३ मा प्रकाशित


काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत घरेलु शृङ्खलामा नेपालले अमेरिकाविरुद्ध ९ विकेटले जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रङ्गशालामा आज भएको खेलमा अमेरिकाले दिएको १९५ रनको लक्ष्यमा नेपाल ९ विकेटले विजयी भएको हो ।

नेपालका लागि ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेखले १५४ रनको योगदान दिए । भुर्तेलको शतकसँगै नटआउट प्रदर्शनका कारण नेपालले १९६ रनको लक्ष्य सहजै भेटिएको हो । उनले १३ चौका र चार छक्काको मद्दतमा ११८ बल खेलेर १२० रन बनाएका हुन् । आशिफ ७२ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए ।

यसअघि पहिला ब्याटिङ गरेको अमेरिकाले ४३ दशमलव तीन ओभरमा १९५ रन बनाएको थियो । नेपालले एक विकेट गुमाउँदै ३६ दशमलव चार ओभरमा लक्ष्य पूरा गर्‍यो । अमेरिका कम रनमा समेटिने क्रममा नेपालका लागि दिपेन्द्र सिंह ऐरीले ४ विकेट लिए भने सोमपाल कामीले दुई, सन्दीप लामिछाने र गुल्सन झाले समान एक/एक विकेट लिए ।

अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाएका थिए  । उनले ८९ बलमा ८ चौका र ३ छक्का प्रहार गरेका हुन् । शेहान जयसुरिया ५२ बलमा एक छक्क प्रदार गर्दै ५० रन बनाएर आउट भएका हुन् ।

यो जितसँगै सातौँ स्थानमा रहेको नेपालले २० अंक बनाएको छ । छैटौँ स्थानमा रहेको क्यानडाको २१, पाँचौँ स्थानमा रहेको नामिबियाको २२ अंक छ । खेल तालिकाको अन्तिममा रहेको युएईले १४ अंक बनाएको छ भने स्कटल्यान्ड ३८ अंकसहित खेल तालिकाको अग्र स्थानमा छ ।