इन्धन मूल्यवृद्धिको प्रभाव : आन्तरिक हवाई यात्रु घटे, अन्तर्राष्ट्रिय उडानमा भने वृद्धि

-


     मर्दी न्युज    
     जेठ ११ गते २०८३ मा प्रकाशित


काठमाडौँ । पश्चिम एसियामा विकसित युद्धस्थितिको प्रभावका कारण हवाई इन्धनको मूल्य बढेपछि आन्तरिक उडानको टिकट महँगिएको छ। त्यसको प्रत्यक्ष असर आन्तरिक हवाई यात्रुको संख्यामा देखिएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय को तथ्यांकअनुसार अप्रिल २०२६ मा आन्तरिकतर्फ कुल ३ लाख १७ हजार ९ सय ५४ यात्रुले हवाई सेवा उपयोग गरेका छन्। अघिल्लो महिना मार्चमा भने यो संख्या ३ लाख ३५ हजार ६ सय ८३ रहेको थियो।

वायुसेवा कम्पनीहरूले इन्धन मूल्यमा आएको तीव्र वृद्धिका कारण हवाई भाडा बढ्न पुगेको र त्यसले यात्रु संख्यामा कमी ल्याएको बताएका छन्। बुद्ध एयर का सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार इन्धनको मूल्य एकै पटक उल्लेख्य रूपमा बढेपछि त्यसको असर टिकट दरमा परेको हो।

उनले हाल यात्रु चाप घट्नुमा इन्धनको मूल्य मात्र नभई मलमासका कारण धार्मिक तथा पारिवारिक यात्रामा कमी आउनु र पर्यटक आगमन अपेक्षाअनुसार नबढ्नु पनि कारण रहेको बताए।

विमानस्थल कार्यालयका अनुसार अप्रिल महिनामा १ लाख ६० हजार ६ सय १ यात्रु काठमाडौँबाट विभिन्न गन्तव्यतर्फ प्रस्थान गरेका छन् भने १ लाख ५७ हजार ३ सय ५३ यात्रु काठमाडौँ आएका छन्। सो अवधिमा ४ हजार २ सय ७२ उडान तथा ४ हजार २ सय ७० अवतरण भएको तथ्यांक छ।

आन्तरिक उडानतर्फ यात्रु बोक्ने कम्पनीमध्ये बुद्ध एयर अग्रस्थानमा रहेको छ। कम्पनीले एक महिनामा १ लाख ७२ हजार ८ सय ७६ यात्रुलाई सेवा दिएको छ। दोस्रो स्थानमा रहेको यती एयरलाइन्स ले ७१ हजार २७ यात्रुलाई सेवा दिएको छ भने तेस्रो स्थानमा रहेको श्री एयरलाइन्स ले ५३ हजार ५ सय २१ यात्रु ओसारेको छ।

त्यस्तै, सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम ले सो अवधिमा १ हजार १ सय ४८ यात्रुलाई सेवा दिएको छ। समिट एयर ले ५ हजार ६३, तारा एयर ले ३ हजार ६ सय ९१ तथा सीता एयर ले २ हजार ६ सय ४६ यात्रुलाई सेवा दिएको तथ्यांकमा उल्लेख छ।

आन्तरिकतर्फको कुल यात्रु संख्यामा हेलिकोप्टर सेवा प्रदायक कम्पनीहरूले बोकेका यात्रु समेत समावेश गरिएको विमानस्थल कार्यालयले जनाएको छ।

यता अन्तर्राष्ट्रिय उडानतर्फ भने यात्रु संख्या बढेको देखिएको छ। अप्रिल २०२६ मा अन्तर्राष्ट्रिय उडानबाट ४ लाख ५० हजार ५ सय ८२ यात्रुले सेवा लिएका छन्। मार्चमा यो संख्या ३ लाख ७५ हजार ६ सय ७४ रहेको थियो।

तथ्यांकअनुसार एक महिनामा २ लाख २६ हजार ४ सय ९७ यात्रु विदेश प्रस्थान गरेका छन् भने २ लाख २३ हजार ९ सय ८५ यात्रु नेपाल आएका छन्। यस अवधिमा १ हजार ४ सय ६१ अन्तर्राष्ट्रिय उडान तथा १ हजार ४ सय ५९ अवतरण भएका छन्। साथै १ सय यात्रुले ट्रान्जिट सुविधा प्रयोग गरेका छन्।

वसन्त ऋतु पदयात्रा तथा पर्वतारोहणका लागि मुख्य पर्यटकीय समय मानिने भएकाले अन्तर्राष्ट्रिय यात्रुको आगमन तथा प्रस्थानमा वृद्धि भएको विमानस्थल स्रोतले जनाएको छ।