
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब वृद्धि गरेको छ। अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारी कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि गरिएको जानकारी दिए।
बजेट भाषणअनुसार महंगी भत्ता कायम राखेर आधारभूत तलबमा १० प्रतिशत वृद्धि गरिएको छ । यस्तै, १० प्रतिशत मासिक प्रोत्साहन भत्ता कर्मचारीले पाउने छन् ।
अर्थमन्त्रीले भने- पछिल्लो चार वर्षदेखि राष्ट्रसेवक कर्मचारीको तलब वृद्धि नभएको यस अवधिमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मूल्यवृद्धि १७.३ प्रतिशत भएको र मर्यादित जीवनयापनका लागि पारिश्रमिक सुविधा पुनरावलोकन गर्नुपर्ने महसुस गरेको छु ।
यसअघि सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत १५ प्रतिशत तलब वृद्धि गरेको थियो । त्यसयता तलब बढेको थिएन, चालू आवको बजेटले पनि महँगी भत्ता मात्रै बढाएको थियो ।
सरकारी कर्मचारीको नयाँ तलब अब कम्तीमा ४० हजारदेखि १ लाखसम्म कायम भएको उनले बताए। नयाँ तलब साउन महिनादेखि लागू हुनेछ।

