
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिविरुद्ध विद्यार्थी संगठनहरूले काठमाडौँमा प्रदर्शन गरेका छन्।
अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालसँग आबद्ध विद्यार्थीहरूले आइतबार साँझ रत्न राज्यलक्ष्मी क्याम्पसबाट मसाल जुलुस निकालेका हुन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री शाहको संसदमा व्यक्त गरेको सीमा सम्बन्धी भनाइप्रति असहमति जनाउँदै नाराबाजी गरेका थिए।
प्रदर्शन रत्न राज्यलक्ष्मी क्याम्पसबाट सुरु भई प्रदर्शनी मार्ग क्षेत्रतर्फ अघि बढेको थियो। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केहीबेर तनावको अवस्था सिर्जना भएको तथा नेपाल प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शी तथा सार्वजनिक भिडियोहरूमा देखिएको छ।
प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभामा सांसद आरेन राईले सोधेको प्रश्नको जवाफ दिने क्रममा “भारतले नेपालको जग्गा मात्रै होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइ सार्वजनिक भएपछि विभिन्न राजनीतिक दल, भ्रातृ संगठन तथा विद्यार्थी समूहहरूले त्यसप्रति प्रतिक्रिया जनाउन थालेका छन्।

