
प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकका ७ वटा विश्वविद्यालयमा नयाँ उपकुलपति नियुक्त गरेका छन् । कुलपति समेत रहेका शाहले खुला प्रतिस्पर्धाका आधारमा सिफारिस भएका व्यक्तिहरुलाई शुक्रबार नियुक्त गरेका हुन् ।
शिक्षामन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठन भएको छनोट तथा सिफारिस समितिको प्रतिवेदनका आधारमा यी नियुक्ति भएका हुन् ।
नयाँ नियुक्ति अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. भोला थापा चयन भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको जिम्मेवारी किसन दत्त भट्टलाई दिइएको छ । मध्यपश्चिम विश्वविद्यालयको नेतृत्व राजन सुवालले पाएका छन् ।
कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा ऋषिराम कट्टेल नियुक्त भएका छन् । राजर्षी जनक विश्वविद्यालयमा श्यामनारायण लाभलाई जिम्मेवारी सुम्पिएको छ । पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरहट्टा उपकुलपति नियुक्त भएका छन् ।
उपकुलपति छनोटका लागि सरकारले विशेष प्रक्रिया अपनाएको थियो । शिक्षामन्त्री सस्मित पोखरेल संयोजक रहेको समितिले आवेदन दिएकामध्येबाट योग्यताका आधारमा नाम सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा प्रधानमन्त्री शाहले शुक्रबार अन्तिम निर्णय लिएका हुन् । विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा अन्त्य गर्दै खुला प्रतिस्पर्धाबाट नेतृत्व छानिएको सरकारले जनाएको छ ।
समितिले लामो समय लगाएर उम्मेदवारहरुको मूल्यांकन गरेको थियो । यसअघि विश्वविद्यालयहरुमा हुने राजनीतिक नियुक्तिको चौतर्फी आलोचना हुने गरेको थियो । यस पटक भने क्षमता र अनुभवलाई प्राथमिकता दिएर नयाँ पदाधिकारी चयन गरिएको छ । नियुक्त भएका सबै उपकुलपतिहरुले आगामी सातादेखि कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।

