सुनसरी घटनापछि सामाजिक सद्भाव र राष्ट्रिय एकता सुदृढ बनाउन राष्ट्रपतिको आह्वान

-


     मर्दी न्युज    
     श्रावण १४ गते २०८३ मा प्रकाशित


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाउँपालिका-कप्तानगन्जसहित विभिन्न क्षेत्रमा पछिल्लो समय विकसित भएको परिस्थितिप्रति गम्भीर चासो व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकतालाई अक्षुण्ण राख्न सबै पक्षलाई अपिल गरेका छन् ।

बिहीबार जारी सार्वजनिक अपिलमार्फत राष्ट्रपति पौडेलले नेपालमा लामो समयदेखि कायम रहँदै आएको सामाजिक, धार्मिक तथा जातीय सद्भाव, मेलमिलाप, भ्रातृत्व र सहिष्णुताको परम्परा नै मुलुकको विशिष्ट पहिचान भएको उल्लेख गरेका छन् । उनले यही मूल्य र परम्परालाई संरक्षण गर्दै शान्ति, अमनचयन तथा सुव्यवस्थाको वातावरण कायम गर्नु वर्तमान आवश्यकता भएको बताएका छन् ।

राष्ट्रपतिले राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण नेपाली नागरिकलाई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन आ-आफ्नो स्थानबाट सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।

अपिलमा उनले वर्तमान असहज अवस्थालाई शीघ्र सामान्य बनाउने, शान्ति-सुरक्षाको अवस्था पूर्ववत् कायम गर्ने तथा नागरिकले निर्भय र शान्तिपूर्ण वातावरणमा जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्न सरकार आवश्यक प्रयासमा लाग्ने विश्वास पनि व्यक्त गरेका छन् ।

साथै, समुदायबीचको सम्बन्ध थप बिग्रिन नदिई एकता, मित्रता, आपसी सद्भाव र सहिष्णुतालाई प्रवर्द्धन गर्न सबै पक्ष संयमित र जिम्मेवार बन्नुपर्नेमा राष्ट्रपति पौडेलले जोड दिएका छन् ।

राष्ट्रपतिले घटनाको निष्पक्ष छानबिन गरी जिम्मेवार व्यक्तिमाथि कानुनअनुसार कारबाही गर्न तथा यस्ता घटना पुनः नदोहोरिने वातावरण बनाउन सम्बन्धित निकायलाई सचेत रहन आग्रह गरेका छन् ।

घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।