
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
मनसुनी वायुको प्रभावले शुक्रबार बिहान कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधरणतया बदली रहनेछ । देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति पनि देशभर साधरणतया बदली रहने पूर्वानुमान गरिएको छ । हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराईका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ ।
साथै, कोशी प्रदेशका पहाडी र तराई भू-भाग तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
महाशाखाले भारी वर्षा हुन सक्ने क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम रहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले सम्बन्धित सबै पक्षलाई सचेत रहन अनुरोध गरिएको छ ।

