
पाकिस्तानमा हिमाल आरोहणका क्रममा आएको हिमपहिरोमा परी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राक निवासी अनुभवी पर्वतारोही एवं समाजसेवी पुरबहादुर गुरुङको निधन भएको छ। पाकिस्तानस्थित ८०४७ मिटर उचाईको ‘ब्रोड पिक’ आरोहणको क्रममा चर्चित पर्वतारोही पुरबहादुर गुरुङ (युक्त) को मृत्यु भएको पुष्टि भएको हाे ।
अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार चार जना जनाको शव भेटिएको थियो । त्यसमध्ये ओमानी आरोही नधिरा अल हारथी र नेपाली आरोही पुरबहादुर गुरुङ (युक्त) को पहिचान भएको क्लबले जनाएको छ ।
नेपाली पर्वतारोहण क्षेत्रमा परिचित नाम ३७ वर्षीय गुरुङले विश्वको सर्वोच्च शिखर सगरमाथाको १० पटक तथा आठ हजार मिटरभन्दा अग्ला विभिन्न हिमाल २८ पटक सफलतापूर्वक आरोहण गरिसकेका थिए। लामो समयदेखि अन्तर्राष्ट्रिय हिमाल आरोहण अभियानमा सक्रिय रहँदै उनले नेपालको पर्वतारोहण क्षेत्रलाई विश्वसामु चिनाउन महत्त्वपूर्ण योगदान पुर्याएका छन् ।
उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा जन्मेका गुरुङ सामाजिक सेवामा पनि उत्तिकै समर्पित रहँदै आएका थिए। गुरुङ समुदायबाट सबैभन्दा धेरै सगरमाथा आरोहण गर्ने युक्त नै थिए ।
हिमालमै हुर्किएका उनी ३७ वर्षको उमेरमै हिमालमै अस्ताए । ‘ब्रोड पिक’ हिमाल आरोहणका लागि उनी तीन हप्ता अघि नेपालबाट पाकिस्तान गएका थिए । अब कहिलै नफर्किने गरी उतै अस्ताएका छन् ।

