‘दि पावर अफ स्टोरी टेलिङ्ग’ सम्बन्धि कार्यशाला अभिमुखीकरण

-


     मर्दी न्युज    
     श्रावण २५ गते २०८३ मा प्रकाशित


पोखरा । राष्ट्रिय शिक्षक सीप विकास फाउन्डेसन ‘एन्फोर्स्ड्ट’, कास्कीले पोखरामा पूर्वप्राथमिक तथा आधारभूत तहका शिक्षकका लागि दुईदिने ‘कथाबाट सिकाउने कला’ अभिमुखीकरण सम्पन्न गरेको छ।

प्रारम्भिक बालशिक्षा तथा बालविकासका क्षेत्रमा काम गर्दै आएको ईसीईपी नेपाल फाउन्डेसनका विज्ञ प्रशिक्षकहरूलाई निमन्त्रणा गरेर पूर्वप्राथमिक तथा आधारभूत तहका शिक्षकका लागि दुईदिने ‘कथाबाट सिकाउने कला’ अभिमुखीकरण सम्पन्न गरेको हो ।

‘शिक्षण र सिकाइमा कथावाचनको शक्ति’ विषयमा केन्द्रित उक्त कार्यक्रम ७औँ कथा वाचन प्रतियोगिताको पूर्वसन्ध्यामा आयोजना गरिएको थियो। पोखराका आठ विद्यालयका ८६ जना पूर्वप्राथमिक तथा आधारभूत तहका शिक्षक सहभागी कार्यक्रममा कथा भन्नेमात्र नभई कथालाई बालबालिकाको सिकाइका लागि प्रभावकारी शिक्षण विधिका रूपमा कसरी प्रयोग गर्ने भन्ने विषयमा व्यावहारिक अभ्यास गराइएको थियो।

कार्यक्रम ईसीईपी नेपाल फाउन्डेसनको सहकार्यमा एन्फोर्स्ड्ट शैक्षिक नवप्रवर्तन केन्द्रको सहआयोजना, कर्मफ्लाइट्स फाउन्डेसन नेपालको प्राविधिक तथा भास्कर मेमोरियल माध्यमिक विद्यालय, पोखरा–११, फूलबारीमा कार्यक्रम सञ्चालनका भएको थियो।

नेपालमा शिक्षकको पेशागत विकासका धेरै अवसर काठमाडौंमा केन्द्रित रहेको र पोखरालगायत बाहिरी जिल्लाका शिक्षकलाई त्यस्ता तालिममा सहभागी हुन समय, खर्च तथा आवतजावतको चुनौती हुने अवस्थालाई ध्यानमा राखेर पोखरामै विशेषज्ञ प्रशिक्षणको अवसर उपलब्ध गराउने प्रयास गरिएको एन्फोर्स्ड्टले जनाएको छ।

यही क्रममा प्रारम्भिक बालशिक्षा र आधारभूत शिक्षाको क्षेत्रमा अनुभव हासिल गरेको ईसीईपी नेपाल फाउन्डेसनको टोलीलाई पोखरामा आमन्त्रण गरिएको हो।

एन्फोर्स्ड्टका अध्यक्ष प्रेमबहादुर कुँवरले पोखरामै राष्ट्रियस्तरका प्रशिक्षण संस्था र विज्ञहरूलाई जोडेर शिक्षकको पेशागत विकासका अवसर विस्तार गर्न आवश्यक रहेको र गुणस्तरीय शिक्षाको सुधार कक्षाकोठाबाट सुरु हुने र कक्षाकोठा सुधारका लागि शिक्षकलाई निरन्तर सिक्ने, अभ्यास गर्ने र नयाँ विधि प्रयोग गर्ने अवसर आवश्यक हुने बताए।

दुईदिने कार्यक्रममा ईसीईपी नेपाल फाउन्डेसनका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक प्रेमकुमारी बुढाथोकी, क्षेत्रीय कार्यक्रम संयोजक बिमला गुरुङ तथा सहजकर्ताद्वय सरिता केसी र शर्मिला थापाले प्रशिक्षण दिएका थिए। उनीहरूले बालबालिकाको उमेर र विकासको अवस्थाअनुसार कथा छनोट, आवाजको उतारचढाव, हाउभाउ, भूमिका अभिनय, गीत तथा संगीत, चित्र तथा कार्ड, वास्तविक तथा प्राकृतिक सामग्रीको प्रयोगलगायतका माध्यमबाट कथा प्रस्तुत गर्ने अभ्यास गराए।

प्रशिक्षणका क्रममा सहभागीहरूले सबै उमेरका बालबालिकालाई एउटै किसिमको कथा र एउटै शैलीबाट सिकाउन नसकिने कुरा व्यवहारमै अभ्यास गरे। कथालाई सधैँ सुखद अन्त्य हुने सामान्य घटनाका रूपमा मात्र नहेरी पात्र, परिवेश, भाव, आवाज, अभिनय, प्रस्तुति र सिकाइको उद्देश्यसँग जोडेर प्रयोग गर्नुपर्ने विषयमा पनि उनीहरूले अभ्यास गरे।

कार्यक्रमको दोस्रो दिन विभिन्न विद्यालयका शिक्षकलाई समूहमा विभाजन गरी कथा तयार पार्ने, अभ्यास गर्ने र प्रस्तुत गर्ने अवसर दिइएको थियो। समूहगत प्रस्तुति क्रममा शिक्षकहरूले सिर्जनशीलता, सहकार्य र प्रस्तुति क्षमता देखाएका थिए। एउटै समूहमा फरक–फरक विद्यालयका शिक्षकले मिलेर काम गर्दा उनीहरूबीच अनुभव आदानप्रदानको अवसरसमेत बनेको थियो। प्रत्येक समूहको प्रस्तुतिपछि सहभागी शिक्षकहरुले आफूले गरेको प्रस्तुति आफैंले मूल्याङ्कन गर्ने, साथी शिक्षकबाट प्रतिक्रिया लिने र प्रशिक्षकको सुझाव सुन्ने अभ्यास तालिमको महत्वपूर्ण पक्ष थियो।

समापन कार्यक्रममा सहभागी शिक्षकहरूले दुई दिनको अनुभव साझा गर्दै तालिम आफूहरूको अपेक्षाअनुसार नै उपयोगी भएको, बाल्यकालमा हजुरआमाबाट कथा सुनेका दिनहरू सम्झाएको बताउदै बालबालिका उत्प्रेरित गर्न सधैँ मोबाइल फोन वा डिजिटल सामग्री आवश्यक नपर्ने उल्लेख गर्दै उनले आफ्ना बालबालिकालाई कथा सुनाउँदै हुर्काएको अनुभव सुनाए।

शिक्षकहरूले आफ्नो विद्यालयले शिक्षकको पेशागत विकासलाई प्राथमिकता दिँदै आएको र यस्ता प्रशिक्षणले आफ्नो कामलाई अझ सहज र उत्साहपूर्वक गर्न सहयोग पुगेको बताए। शिक्षकहरूले तालिमबाट सिकेका कुरा कक्षाकोठामा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनीहरूले यसअघि कथावाचन सामान्य र सजिलो काम हो भन्ने सोचे पनि तालिमपछि बालबालिकाको उमेर, कथा छनोट, आवाज, हाउभाउ, प्रस्तुति, सामग्री र सिकाइको उद्देश्यजस्ता पक्षमा विशेष ध्यान दिनुपर्ने बुझेको बताए।

दुईदिने अभिमुखीकरणमा सहभागी सबै शिक्षकलाई प्रमाणपत्र प्रदान गरिएको थियो। तालिमको अर्को चरणमा छनोट भएका शिक्षकले आगामी कात्तिकमा काठमाडौंमा हुने ७औँ कथा वाचन प्रतियोगितामा सहभागी हुनेछन्। त्यहाँ उनीहरूले रंगमञ्चका कलाकार तथा अन्य विज्ञबाट थप प्रशिक्षण र निर्देशन पाउनेछन्। प्रतियोगिताबाट उत्कृष्ट पाँच कथावाचकलाई नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

कर्मफ्लाइट्स फाउन्डेसन नेपालका सूचना तथा सञ्चार प्रविधि अधिकृत सुभाष पौडेलले सहभागी शिक्षकलाई तालिम सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै दुई दिनमा सिकेका विधि कक्षा कोठामा प्रयोग गर्न शुभकामना दिए। समापन कार्यक्रममा एन्फ़ोर्स्ड्ट शैक्षिक नवप्रवर्तन केन्द्रका तर्फबाट विश्वराज बाँस्तोलाले पोखरामा यस्तो कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्दै सहभागी शिक्षकलाई काठमाडौंमा हुने कथा वाचन प्रतियोगितामा सहभागी हुन प्रोत्साहित गरे। उनले एन्फ़ोर्स्ड्टको आयोजनामा आगामी असोज–कात्तिकमा ‘टिचर्स इन पोखरा–दोस्रो संस्करण आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए।