गुरुङ साहित्यिक मञ्च नेपालको अध्यक्षमा रोशनी गुरुङ

-


     मर्दी न्युज    
     असाेज ३ गते २०८३ मा प्रकाशित


गुरुङ साहित्यिक मञ्च नेपालको केन्द्रीय अध्यक्षमा रोशनी गुरुङ निर्वाचित भएकी छन्।

पोखरामा शनिबार आयोजित मञ्चको १०औँ साधारणसभा तथा चौथो अधिवेशनले गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

मञ्चको वरिष्ठ उपाध्यक्षमा मिश्रमाया गुरुङ, उपाध्यक्षमा आशबहादुर गुरुङ, महासचिवमा सम्राट गुरुङ, सचिवमा देवेन्द्र गुरुङ ‘सुरज’, कोषाध्यक्षमा जस्माया (जसु) गुरुङ र सहकोषाध्यक्षमा प्रतिमा गुरुङ चयन भएका छन्। सदस्यमा पवित्र गुरुङ, बालकाशी गुरुङ, प्रेमबहादुर गुरुङ र रुकबहादुर गुरुङ चयन भएका छन्। निर्वाचन समिति संयोजक अधिवक्ता जुनाकुमारी गुरुङले नयाँ कार्यसमिति चयन भएको जानकारी दिइन्।

अधिवेशनका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य तीर्थ गुरुङ, गण्डकी प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बालकाशी गुरुङ र पोखरा प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य श्रीजङ गुरुङलाई सम्मान गरिएको संस्थापक अध्यक्ष गौरीसरा गुरुङ ‘गौरी’ले बताइन्।

कार्यक्रममा तमु प्ये ल्हु संघ हङकङका अध्यक्ष मनबहादुर गुरुङले गुरुङ भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा साहित्यिक मञ्चको भूमिका महत्त्वपूर्ण रहेको बताए।

नवनिर्वाचित अध्यक्ष रोशनी गुरुङले गुरुङ साहित्यलाई थप विस्तार गर्दै नयाँ पुस्तालाई साहित्य र भाषासँग जोड्ने गरी काम गर्ने बताइन्।

मञ्चले यसअघि २०७९ सालमा तेस्रो अधिवेशनबाट तेजबहादुर गुरुङ ‘तेजबहादुर च्हाक्ली तमु’को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको थियो।