भदौ १ बाट अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न सिफारिस

-


     मर्दी न्युज    
     श्रावण २५ गते २०७७ मा प्रकाशित


काठमाडौं । कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सिसिएमसी)ले भदौ एक गतेदेखि खोल्ने भनिएको अन्तरजिल्ला यातायात र हवाई उडान नखोल्न सिफारिस गरेको छ । आइतबार बसेको बैठकले कम्तिमा १५ दिनका लागि लामो दूरीको गाडी र हवाई उडान पर सार्न सिसिएमसीले सिफारिस गरेकाे हाे ।

कोरोना भाइरसको जोखिम थप बढेको भन्दै सिसिएमसीले यस्तो निर्णय गरेको हो । सिसिएमसीको निर्णय मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि लागू हुनेछ । यसअघि साउन ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि लामो दूरीको यातायात र हवाई उडान सुरु गर्ने निर्णय गरेको थियो ।

अब विद्यालय भर्ना लगायतका शैक्षिक गतिविधि पनि तत्काल नखुल्ने भएको समितिका एक सदस्यले जानकारी दिए । सिसिएमसीले बैंक तथा वित्तिय संस्थामा ५० प्रतिशत कर्मचारीबाट काम चलाउन र बाँकीलाई १५/१५ दिनमा आलोपालो गर्नका लागि पनि सिफारिस गरेको छ ।

बैठकले अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा थप कडाइ गर्न र भारतबाट आवात जावत हुने विन्दु जम्मा १० वटा तोक्नका लागि पनि सिफारिस गरेको मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईँले जानकारी दिए ।

बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कनै परे स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेरमात्र निस्किनका लागि आग्रह गरेको उनले जानकारी दिए ।