पोखराका थप ४ जनामा कोरोना संक्रमण, प्रदेशमा संक्रमितको संख्या १७८३ पुग्यो

-


     मर्दी न्युज    
     भाद्र ३ गते २०७७ मा प्रकाशित


पोखरा, ३ भदौ । बुधवार पोखरा महानगरपालिकामा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । पोखरा महानगरपालिकाका वडा नं. ४, १२ र २४ मा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ८३ जना पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिकामा ४ का ४७ वर्षीय पुरुष, वडा नं. १२ का ३७ र ४० वर्षीय पुरुष र वडा नं. २४ का १८ वर्षीय युवक गरी ४ जनामा कोरोना संक्रमण देखिएको निर्देशक डा. शर्माले जानकारी दिए ।

यसअघि आज बिहान क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा तनहुँका २ जना र भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा नवलपुरका १२ जनामा कोरोना संक्रमण देखिएको थियो । केहीदिन यता गण्डकी प्रदेशमा कोरोना संक्रमण निरन्तर बढिरहेको छ । कोरोना संक्रमण रोकथाम गर्न गएरातिदेखि कास्की जिल्लामा निषेधााज्ञा जारी गरिएको छ ।

गण्डकी प्रदेशमा अहिले सम्म १ हजार ५ सय ५० जनामा कोरोना संक्रमण निको भएर घर फर्किएका छन् भने ८ जनाको मृत्यु भएको छ ।



Tags: