एक जना सङ्क्रमित फेला पार्न एक लाख चार हजार रुपियाँ खर्च

-


     मर्दी न्युज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

काठमाडौं । नेपालमा एक जना संक्रमित पत्ता लगाउन रु एक लाख चार हजार ६३०  खर्च भइरहेको छ ।  अहिलेसम्म ३० हजार ४८३  संक्रमित पत्ता लगाइएको र रु पाँच हजार ५०० प्रतिपिसिआर परीक्षण खर्च भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयले अहिलेसम्म पाँच लाख ७९ हजार ८९९ जनाको पिसिआर परीक्षण गरिसकेको छ । रु तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार ५००  पिसिआर परीक्षण खर्च भएको छ । 

“एउटा संक्रमण भेटाउनका लागि सरकारले अहिले एक जनामा एक लाख ४ हजार ६३० रुपियाँ खर्च भएको छ । उपचारमा खर्च एक  व्यक्तिको ३० दिन राख्दा चार लाख ५० हजार रुपियाँ खर्च हुने गरेको छ, ”, उनले भने, “ यसरी कोरोनाको जाँच गर्ने र पत्ता लगाउने र  उपचार गर्ने पद्धति धेरै नै खर्चिलो भएको छ । जरुरी काम नपरीकन बाहिर ननिस्कनु होला ।”

उनले बाहिर निस्कनै पर्‍यो भने दुई मिटरको दूरी कायम गरी मास्क र सेनिटाइजर प्रयोग गर्न तथा घर गइसकेपछि साबुनपानीले मिचिमिची हात धुन अनुरोध गरेका छन् ।

नेपालमा अहिलेसम्म गरिएको परीक्षणमा पाँच लाख ४९ हजार ४१६ जनामा संक्रमण देखिएको छैन । यस्तै १८ हजार २१४ जना निको भई घर फर्किसकेका छन् भने १३७ जनाको संक्रमणको कारणले मृत्यु भएको छ । 

यसैगरी संक्रमित बढ्न थालेपछि सघन उपचार कक्ष् र भेन्टिलेटरमा उपचार गराउने संक्रमित बढेका छन् । 

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आइसियुमा १३३ र भेन्टिलेटरमा १५ जना छन् । यस्तै पाँच सयभन्दा बढी संक्रमित रहेका ६   जिल्ला  मोरङ, पर्सा, महोत्तरी, रौतहट, सर्लाही र काठमाडौँ  छन् । संक्रमित शून्य  रहेका जिल्लामा भोजपुर, मुस्ताङ, म्याग्दी र हुम्ला छन् । 

उनले संक्रमण रहेका टोलटोलमा अहिले पनि खुला हिँड्ने र नाचगान गरिएको पाइएकाले त्यसो नगर्न अनुरोध गरे । उनले धेरै जनामा संक्रमण फैलियो भने उपचारका लागि समस्या झनै थपिने बताए ।

मन्त्रालयका प्रवक्ता डा गौतमले कोरोना रोकथाम र नियन्त्रण गर्न स्थानीय तह, क्लब र  टोललाई व्यक्तिगत भेटघाट र सामूहिक भेट गर्दा निगरानी गर्न र स्वास्थ्य सचेतना अभियान सञ्चालन, अनुगमन गर्न तथा स्वास्थ्य मापदण्डअनुसार पालना नगरे सम्बन्धित निकायलाई कारवाहीका लागि सिफारिस गर्न अनुरोध गरेका छन् । – रासस