
चितुवाको आक्रमणमा घाइते भएका हरिबहादुर थापा ।
लमजुङ । बेंसीशहर नगरपालिका–९ स्थित साम्दी थापा गाउँमा आज बिहान मानिससँगको भिडन्तमा एक चितुवा मारिएको छ ।
बिहान ६ बजेतिर ६३ वर्षीय हरिबहादुर थापा घाँस काट्न घरबाट निस्कनसाथ चितुवासँग जम्काभेट भयो । आहारा खोज्दै घरतर्फ आइरहेको चितुवाको निशाना थापामाथि पर्यो र पहिलो भेटमै चितुवाले थापालाई खेतको गह्रामा हुत्ताइदियो ।
थापा र चितुवाबीच केही बेर घम्साघम्सी नै परेको थियो । चितुवाले आक्रमण गर्दा उनको हातमा घाउ लाग्यो । धानबारीमा लडेका थापाले भने हरेस खाएनन् । बरु चितुवाको दोस्रो प्रहार रोक्दै हँसियाले हान्न भ्याए । हँसिया प्रहारले चितुवाको टाउको, नाकको डाँडी, घाँटी, खुट्टामा चोट लाग्यो । केहीबेरमा चितुवा मर्यो।

भिडन्तमा घाइते भएका थापाको प्रारम्भिक उपचार लमजुङ सामुदायिक अस्पतालमा भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए ।
मृत चितुवा डिभिजन वन कार्यालय लमजुङलाई बुझाइएको छ । ‘वन ऐन अनुरुप उहाँहरुले व्यवस्थापन गर्नुहुनेछ’, प्रजिअ शर्माले भने ।

