
एजेन्सी । भारतको महाराष्ट्रमा एउटा पाँचतल्ले अपार्टमेन्ट भत्किंदा २ जनाको मृत्यु भएको छ भने १५ जनाको उद्धार गरिएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । भत्किएको सो अपार्टमेन्टमा ६० जना मानिस पुरिएको आशंका गरिएको छ ।
मुम्बईबाट झण्डै १ सय ७० किलोमिटरको दूरीमा रहेको महद भन्ने शहरमा घटना भएको हो । भत्किएको सो अपार्टमेन्टमा ४७ वटा फ्लाट रहेको प्रहरीले जनाएको छ ।
भवन भत्किएपछि १५ जनालाई उद्दार गरी अस्पताल पुर्याएको छ । उद्दार टोली भग्नावशेषमा पुरिएकाहरुको खोजी गरिरहेको हिन्दुस्तान टाइमसले जनाएको छ । खोजी तथा उद्दार कार्यमा स्थानीयहरुले सहयोग गरिरहेका छन् ।
मनसुनको समयमा भारी वर्षा भएपछि भवन भत्किनु भारतमा सामान्य घटना हो । प्रतिवेदनहरुका अनुसार भवन १० वर्ष पुरानो रहेको बताइएको छ ।
यस वर्षको मनसुनमा मात्रै भारी वर्षापछि १२ सयभन्दा बढीको मृत्यु भइसकेको छ । त्यसमध्ये ८ सय जनाको भारतमा मृत्यु भएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

