गण्डकी प्रदेशमा पोखराका थप ७ र तनहुँका ६ गरी १३ जना नयाँ संक्रमित

-


     मर्दी न्युज    
     भाद्र ९ गते २०७७ मा प्रकाशित


पोखरा, ९ भदौ । पोखरा महानगरपालिकामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान दोश्रो पटक विज्ञप्ति जारी गरेर पोखराका ७ र तनहुँका ६ जना गरी गण्डकी प्रदेशमा १३ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ । यसअघि बिहानै निर्देशनालयले एक विज्ञप्ति जारी गरी पोखरामा ४ जना संक्रमित थपिएको जानकारी दिएको थियो ।

यो सहित पोखरामा मंगलबार बिहान मात्रै ११ जना संक्रमित थपिएका छन् भने गण्डकी प्रदेशमा मंगलवार मात्रै १७ जना थपिएका छन् ।
निर्देशनालयका अनुसार पोखरा महानगरको वडा नम्बर ४ मा २७ वर्षका २ जना पुरुष, ५ मा ९ वर्षीया बालिका र ३२ वर्षीया महिला गरी २ जना, ७ मा १५ वर्षीय युवक, १० मा ४० वर्षीया महिला र १४ मा २५ वर्षीया युवती गरी ७ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै तनहुँ भानु नगरपालिका १ का ४६ र ६३ वर्षीय २ जना पुरुष र १७, २५, ४५ र ५२ वर्षीया महिलासहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आज बिहान थपिएका पोखराका ४ जना मध्ये एक जना पत्रकार छन् ।
बिहान पुष्टि भएका एक ३४ वर्षीय उनी लेखनाथस्थित एफएममा कार्यरत पत्रकार हुन् । उनको घर पोखरा महानगरको वडा २८ मा भएपनि पोखरा २७ स्थित एफएममै आवासीय रुपमा काम गर्दै आइरहेका थिए । साताअघि पोखरा २७ को तालचोकस्थित बैंकमा कार्यरत कर्मचारीलाई कोरोना पुष्टि भएसँगै कन्ट्याक ट्रेसिङमा परेका पत्रकारलाई संक्रमण पुष्टि भएको हो । पोखरा महानगरमा पत्रकारमा भने पहिलो पटक भेटिएको केस हो ।



Tags: