
पोखरा, १५ भदौ । विश्वभर कोरोना संक्रमितको संख्या अढाई करोड नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार आज सोमवार बिहानसम्ममा विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ५१ लाख २७ हजार २९७ जना पुगेको छ ।
सबैभन्दा धेरै कोरोना संक्रमित हुने देशको सूचिमा पहिलो स्थानमा अमेरिका छ भने दोस्रो स्थानमा ब्राजिल छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ५९ लाख ९४ हजार ६२४ जना पुगेको छ । त्यस्तै ब्राजिलमा कोरोना संक्रमितको संख्या ३८ लाख ६२ हजार ३११ पुगेको छ भने तेस्रो स्थानमा रहेको भारतमा ३५ लाख ४२ हजार ७३३ जना पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म ज्यान गुमाउनेको संख्या ८ लाख ४४ हजार ६९५ पुगेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण कारण सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा हालसम्म १ लाख ८३ हजार ३९ जनाको संक्रमणको कारण ज्यान गएको छ । त्यस्तै दोस्रो स्थानमा रहेको ब्राजिलमा १ लाख २० हजार ८२८ जनाले ज्यान गुमाएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।
विश्वभर कोरोना निको हुनेको संख्या १ करोड ६५ लाख ३८ हजार ५०५ जना रहेको छ ।

