
पोखरा, ७ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ७२ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६७ हजार ८ सय ४ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । बुधवारसम्म होम आइसोलेसनमा ९ हजार १ सय ८६ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ८ हजार २ सय २८ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १७ हजार ४ सय १४ जना रहेको छ ।
प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ९ लाख ४४ हजार ४ सय ७४ जनाको पीसीआर परीक्षण भएको छ ।
त्यसैगरी बुधवारसम्म क्वारेन्टाइनमा ७ हजार १ सय ४ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १ हजार ८ सय ९३ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४९ हजार ९ सय ५४ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा ७ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४ सय ३६ पुगेको मन्त्रालयले जनाएको छ ।

