संक्रमण तीव्र बनेपछि बेलायतमा पुनः लकडाउन घोषणा

-


     मर्दी न्युज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित


कोरोना संक्रमण पुनः बढ्न थालेपछि बेलायत सरकारले दोस्रो पटक लकडाउन (बन्दीबन्दी) को घोषणा गरेको छ।

शनिबार बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पत्रकार सम्मेलन गरी आगामी बिहीबारदेखि लागु हुने गरी चार हप्ताका लागि बन्दाबन्दीको घोषणा गरेका हुन्।

यसअघि बेलायतमा यही वर्षको मार्च २३ देखि पहिलो पटक बन्दाबन्दी गरेर जुलाईमा खुला गरिएको थियो।

यो पटकको बन्दाबन्दीमा पहिले जस्तो स्कुल, कलेज तथा विश्वविद्यालयहरू भने बन्द हुने छैनन् । अत्यावश्यक वस्तुबाहेकका अन्य पसलहरू पूर्णरूपमा बन्द रहने बेलायत सरकारले जनाएको छ।

हस्पिटालिटी क्षेत्रमा रेस्टुरेन्ट र पबहरू बन्द रहने भए पनि टेक–वे पसलहरू भने खुलै रहनेछन्।

पछिल्लो समय कोरोना सङ्क्रमणको सङ्ख्या एक्कासि बढेपछि कुन तहको बन्द गर्ने भन्ने सवालमा सरोकारवालाहरूसँग करिब तीन साता गरेको छलफलबाट पुनः लकडाउन गर्ने निष्कर्षमा सरकार पुगेको हो।

आगामीे डिसेम्बर २ तारिखपछि बन्दाबन्दी अलि खुकुलो हुने र सबै काममा फर्कन सजिलो हुने अपेक्षा त्यहाँका अधिकारीहरुले गरेका छन्। रासस