
काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिको सोमबार बसेको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाको सिफारिस गरेको हो।
डिआइजी पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन्। सरकारले मंसिर ३ गतेको मन्त्रिपरिषदबाट एआईजीको एक दरबन्दी थप गर्ने निर्णयसँगै बढुवा समितिको बैठकले ओएण्डएमअनुसार थपिएको एआइजी पदमा पोखरेलको नाम सिफारिस गरेको हो।
गृहसचिव, प्रधानमन्त्री कार्यालयका सचिव र प्रहरी महानिरीक्षक रहने सो समितिले सोहि दरबन्दीका लागि पोखरेलको मात्र नाम सिफारिश गरेको हो। यो सिफारिशलाई मन्त्रिपरिषदले स्वीकृत गरेपछि उनी एआईजी बन्नेछन्।
कनिष्ठ ब्याचबाट यसअघि पनि डिआइजी बढुवा भएका पोखरेल अन्यथा नभए उनी हालका प्रहरी महानिरीक्षक क्षत्रीपछि स्वतः प्रहरी नेतृत्वमा पुग्छन्।
नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि कायम रहेकै अवस्थामा हालका महानिरीक्षक क्षत्रीसँगै बाँकी तीन एआइजी अवकाशमा जाने हुनाले भावी प्रहरी नेतृत्वका लागि पोखरेल एकल दाबेदार हुनेछन्।

