
फाइल तस्विर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता बद्रिनाथ अधिकारीले जारी गरेको विज्ञप्तिमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन अध्यादेश जारी भएको हो ।
अध्यादेशले धारा ६ को उपधारा ३ संशोधन गरेको छ । जसअनुसार अब परिषद्का बहुमत सदस्य (अध्यक्ष प्रधानमन्त्रीसहित ३ सदस्य) को उपस्थितिमा बैठक बस्न सक्ने स्रोतले बताएको छ ।
मंगलबार बिहान बोलाइएको परिषद्को बैठक सभामुख अग्नि सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । यसअघि पनि सभामुख अग्नि सापकोटा परिषद बैठकमा उपस्थित नभएपछि आज बसेको मन्त्री परिषद् बैठकले अध्यादेश पारित गरेको हो ।
यसैबीच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त अध्यादेशप्रति आपत्ति जनाउँदै तत्काल फिर्ता गर्न माग गरेका छन् । पार्टीमा अन्य नेतासंगको सल्लाह बिना अध्यादेश जारी गरेको भन्दै उनले तत्काल फिर्ता लिनुपर्ने माग गरेका हुन् ।
त्यस्तै साँझ ५ बजेको लागि बोलाइएको परिषद् बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवा पनि उपस्थित नहुने जनाइएको छ । बिहानको बैठकमा भाग लिन पुगेका भए पनि अध्यादेश जारी भएपछि उत्पन्न परिस्थितिका कारण साँझको बैठकमा देउवा उपस्थित नहुने स्रोतले जनाएको छ ।


