अविश्वासको प्रस्ताव दर्ता भएपनि सामना गर्न तयार छु : मुख्यमन्त्री गुरुङ

-


     मर्दी न्युज    
     पुस १८ गते २०७७ मा प्रकाशित


गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारमाथि अविश्वासको प्रस्ताव पेश भए सामना गर्न तयार रहेको बताएका छन् ।

शनिवार गोरखा सदरमुकाममा आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै मुख्यमन्त्री तथा नेकपा गण्डकीका प्रदेश इञ्चार्जसमेत रहेका गुरुङले गण्डकी प्रदेशमा जतिसुकै बेला अविश्वासको प्रस्ताव दर्ता हुने सक्ने र त्यसको लागि आफू सामना गर्न तयार रहेको बताएका हुन् ।

‘उहाँहरूले अविश्वासको प्रस्ताव जतिसुकै बेला दर्ता गर्न सक्नुहुन्छ, त्यसको लागि म तयार छु’, उनले भने, ‘केन्द्रमा र अरु प्रदेशमा झगडा हुदैमा गण्डकी प्रदेशमा पनि झगडा गर्नैपर्छ भन्ने छैन । अरु प्रदेशका लागि पनि नमूना प्रदर्शन गर्नुपर्छ भन्ने मेरो तर्क छ ।’

मुख्यमन्त्री गुरुङले केन्द्रमा जे जस्तो विवाद भए पनि प्रदेशभित्र सरकार सञ्चालनमा मिलेर जानुपर्ने पक्षमा आफू रहेको भन्दै अविश्वासको प्रस्ताव नै आए सामना गर्नुको विकल्प नरहेको बताए ।

साथै उनले नेकपाको वैधानिक अध्यक्ष र संसदीय दलका नेता पनि केपी शर्मा ओली नै भएको दाबी गरेका छन् । उनले टाउको गनेर बहुमत र अल्पमतको कुरामा नअल्झन नेता कार्यकर्तालाई आग्रह गरे।